पाकेको सुन्तला कुहिएर झरेपछि कृषक मर्कामा
पाँचथर, पुस १९ : पाकेर बिक्री गर्ने वेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन्।सुन्तला टिप्ने समयमा धमाधम...
पाँचथर, पुस १९ : पाकेर बिक्री गर्ने वेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन्।
सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएको कृषकले बताएका छन्। सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ। किराका कारण सुन्तला कुहिएर झरेको कृषकले बताएका छन्।
रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो। हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ।
'पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ,' थेबेले भने, 'यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ। झरेको सुन्तला कुहिएको पाएका छौँ।'
मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सुन्तला कुहिएर जाँदा वर्षभरिको आम्दानी समाप्त भएको अर्का कृषक जयबहादुर नेम्वाङले बताए।
कृषकको गुनासोपछि फिदिम नगरपालिकाले प्राविधिक पठाई सुन्तला कुहिएर झर्ने समस्याको अनुगमन गराएको छ। फिदिम नगरपालिकाको कृषि शाखाका प्रमुख यामबहादुर सङ्ग्रौलाका अनुसार सुन्तलामा ‘फ्रुटफ्लाइ’ नामको किराको सङ्क्रमण देखिएको छ।
झिङ्गाजस्तो यो किराले पाकेको फल कुहाउने गर्छ। 'पोथी किराले फल छेडेर भित्र पसी फुल पार्ने काम गर्छ । फुल लार्भा भएपछि सुन्तलालगायत फल कुहाएर क्षति गर्छ,' सङ्ग्रौलाले भने।
फल नलाग्दै फेरेमेन ट्राप र मालाथिन नामक विषादी मिलाएर छर्केको अवस्थामा यो किराको समस्या नहुने उनको भनाइ छ। फलमा लागेको किरा भने नियन्त्रण गर्न नसकिने सङ्ग्रौलाले बताए।
यसवर्ष अत्यधिक वर्षाका कारण सुन्तलाको फल नै कम लागेको थियो। पाकेको सुन्तला पनि विगतका वर्षको जस्तो स्वादिष्ट छैन। अधिक वर्षाकै कारण विगतका वर्षको जस्तो स्वाद नभएको जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ का कृषक रुपा लावतीको भनाइ छ।
यस वर्ष चाँडै चिसो शुरु हुँदा सुन्तलामा स्वाद नभएको कृषक बताउँछन् । जिल्लाका आठवटै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाका कुरुम्बा, आङ्सराङ, रानीगाउँ, फाक्तेप, फिदिम, रानीटारलगायत स्थानमा बढी सुन्तला उत्पादन हुने गर्दछ। (रासस)











