Kathmandu Press

कर्णाली प्रदेशका तीन जिल्लामा कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशका तीन जिल्लामा कोरोना संक्रमणमुक्त

वीरेन्द्रनगर, पुस १८ : कर्णालीका तीन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ। कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेशनमा उपचाररत सङ्क्रमित हाल निको भई घर फर्किसकेका छन् । 

सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १७० कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् । मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात हजार ३५७ पुगेको जानकारी दिए। 

आरडिटी र पिसिआर विधिबाट ९६ हजार १०२ जनाको गरिएको परीक्षणमध्येबाट सात हजार ३५७ जनामा सङ्क्रमण पहिचान भएको हो । कर्णालीका प्रदेश अस्पताल-पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ। 

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन् । त्यस्तै दैलेखका छ, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एक-एक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति: १३:०० बजे, शनिबार, पुस १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्