Kathmandu Press

जन उपलब्धि रक्षाका लागि संसद विघटन : ऊर्जामन्त्री रायमाझी

पोखरा, पुस १७ : ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्। नेपाल कम्युनिष्ट...
जन उपलब्धि रक्षाका लागि संसद विघटन : ऊर्जामन्त्री रायमाझी

पोखरा, पुस १७ : ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उनले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको उल्लेख गरे।

ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताए।  

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासको गति बढेको देख्न नचाहनेले सरकार र पार्टीलाई विभिन्न तबरबाट दुःख दिएको उल्लेख गरे।  जनप्रतिनिधिलाई पार्टीमा सङ्गठित भएर लाग्न निर्देशन दिँदै उनले उपलब्धिको रक्षा र समृद्धिको यात्रालाई निरन्तरता दिन नयाँ जनादेशमा जानुपरेको बताए।  

पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले ओली नेतृत्वको सरकारले गरेका विकास निर्माण लगायतका कामबाट अत्तालिएर पार्टी तथा सरकार भित्र किचलो पारिएको बताए।  पूर्वमन्त्री खगराज अधिकारीले राष्ट्रियताको पहरेदार एवं समृद्धिको अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नभएको भनेर संसद् विघटन गरेको बताए। 

विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले नेकपालाई जनताले विश्वास र भरोसा गरेको बताउँदै सरकारलाई पार्टीभित्रैबाट असहयोग गरेको बताइन्। पार्टी केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष कृष्ण थापालगायतले निर्वाचनका लागि आ–आफ्नो क्षेत्रमा सङ्गठित भएर लाग्न अनुरोध गरे।  रासस

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, पुस १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्