कोभिड–१९ विशिष्ट सम्मानका लागि योग्य व्यक्तिको खोजी गर्दै बारबरा फाउन्डेसन
बारबराले चिकित्सक, नर्सिङ र पत्रकारिता विधामा कोभिड–१९ विशिष्ट सम्मान प्रदान गर्नेछ । जसको पुरस्कार राशि २–२ लाख रहेको छ ।
बारबरा फाउन्डेसनले ‘कोभिड–१९ विशिष्ट सम्मान’का लागि आवदेन माग गरेको छ । बारबराले नेपालभित्र जनस्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तिहरूलाई कोभिड–१९ विशिष्ट सम्मान प्रदान गर्न आवेदन माग गरेको हो ।
फाउन्डेसनको विज्ञप्तिमा भनिएको छ, ‘अति आवश्यक क्षेत्रमा उत्कृष्ट सेवा गर्ने यस्ता व्यक्तिहरूलाई बारबरा फाउन्डेसनले कोभिड–१९ विशिष्ट सम्मान प्रदान गर्ने निर्णय गरेको जानकारी गराउँदै योग्य व्यक्तिहरूको मनोनयनका लागि यो सार्वजनिक आह्वान गरिएको छ ।’
बारबराले चिकित्सक, नर्सिङ र पत्रकारिता विधामा कोभिड–१९ विशिष्ट सम्मान प्रदान गर्नेछ । जसको पुरस्कार राशि २–२ लाख रहेको छ । फाउन्डेसनका अनुसार कोभिड–१९ विशिष्ट सम्मानका लागि व्यक्ति आफैँ अथवा सहकर्मीले मनोनयन गर्न सक्नेछन् । मनोनयनका लागि केही सर्त तोकिएका छन् । जसमा मनोनीत व्यक्ति नेपाली नागरिक हुनु पर्नेछ ।
त्यस्तै, मनोनीत व्यक्तिले कोभिड–१९ महामारीविरूद्ध अग्रपङ्क्तिमा रही काम गरेको हुनुपर्नेछ साथै आफ्नो नियमित जिम्मेवारीभन्दा माथि उठी कोभिड–१९ रोकथाम, निदान, उपचार वा जनतालाई सुसूचित गर्ने काममा साहस र समर्पणका साथ योगदान गरेको हुनुपर्नेछ ।
फाउन्डेसनले मनोनयनसँगै बढीमा ५०० शब्दमा छनोटको औचित्यबारे विवरण (पत्रकारको हकमा अडियो र भिडियो क्लिप वा प्रकाशित सामग्री) पनि लेखी पठाउन भनेको छ । सिफारिस हुने व्यक्ति कार्यरत संस्थाको प्रमुख वा विभागीय प्रमुख वा प्रधान सम्पादकको सिफारिससमेत साथमा पेस गर्न भनिएको छ ।
मनोनयन गर्ने अन्तिम मिति २०७७ पुस २३ गतेसम्म तोकिएको छ । सो सम्मानका लागि योग्य व्यक्तिले बारबरा फाउन्डेसनको कार्यालयमा वा इमेलमार्फत आवेदन पेस गर्न सक्ने व्यवस्था मिलाइएको छ ।











