Kathmandu Press

विद्युत आयोजना १० वर्षसम्म नबन्दा दीयोकै भर

रुकुम (पूर्व), पुस १७ : पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत् आयोजना १० वर्षसम्म निर्माण नहुँदा स्थानीय बासिन्दा दीयोकै भरमा रहेका छन्।यो...
विद्युत आयोजना १० वर्षसम्म नबन्दा दीयोकै भर

रुकुम (पूर्व), पुस १७ : पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत् आयोजना १० वर्षसम्म निर्माण नहुँदा स्थानीय बासिन्दा दीयोकै भरमा रहेका छन्।

यो आयोजना वि.सं. २०६५/६६ मा निर्माण सुरु भएको थियो। गाउँमै आयोजना निर्माण हुन थालेपछि अन्यत्रबाट बिजुली ल्याइएको छैन। तर, अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन।

विद्युत् आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका सबै अहिले दीयोको भरमा बसिरहेका छन्। बिजुली बल्न नसक्दा गाउँपालिकाको वडा नम्बर ५ सँगै  वडा नं १ र ६  का नौ सय घरधुरी प्रभावित बन्न पुगेको वडा नं. ५ का वडाध्यक्ष कालीप्रशाद रोकाले बताए।

आयोजना निर्माणको लागि एचए हाइड्रो पावरले दुई करोड २९ लाखमा जिम्मा लिएको थियो। कम्पनीले टर्वाइन, जेनेरेटर, यलसी बोर्ड, ट्रन्सफर्मरका साथै थोरै तार मात्र उपलब्ध गराएको थियो।

पछिल्लो समय कम्पनीले काम अलपत्र छोडेर सम्पर्कविहीन बनेको छ। सामग्रीमा पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्। गाउँमा स्थानीय सरकार गठन भएपछि भने स्थानीय सरकारले नै आयोजनाको पुनःनिर्माणको काम शुरुआत गरेको थियो।  

गाउँपालिका र वडाको बजेटबाट आयोजनाको मर्मत कार्यका साथै खिया लागेका सबै सामग्री फेरबदल गरिएको वडाध्यक्ष रोकाले बताए। गाउँपालिकाको दुई आर्थिक वर्षको ६६ लाख र वडाको रु १० लाख गरी कूल ७६ लाखमा अलपत्र विद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ।

लामो समयदेखि अलपत्र रहेको विद्युत् आयोजना पुनःनिर्माणको काम सकिएर गत साउन महिनामा परीक्षण पनि सम्पन्न भइसकेको थियो। सफलतापूर्वक परीक्षण सम्पन्न भएको विद्युत् आयोजनाको बिजुली गाउँमा विस्तारको तयारी गर्दै गर्दा बर्खे भेलले विद्युत् आयोजनाको मुहानै बगाएपछि फेरी आयोजना प्रभावित बनेको थियो।

भेलले मुहानसगै नहर, ड्याम र हेमपाइप बगाएको थियो। अहिले वडाले फेरि पाइप मगाएको छ भने मर्मतको कार्य फेरि शुरु गर्ने जनाएको छ। विद्युत् आयोजनाको मर्मत कार्यपछि छिट्टै त्यहाँका नागरिकले बिजुली बाल्न पाउने वडाध्यक्ष रोकाले बताए। (रासस)

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, पुस १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्