Kathmandu Press

स्त्रीले कति वर्षदेखि प्रसूति चिकित्सकसँग जँचाउने?

कुन उमेरदेखि स्त्रीरोग तथा प्रसूति विशेषज्ञको परामर्श लिनुपर्छ? यौन जीवनमा सक्रिय नभएका वा चाँडै प्रवेश गर्ने योजना नभएकाहरुको सवालमा के हुन्छ?

छोटो ....

स्त्रीले कति वर्षदेखि प्रसूति चिकित्सकसँग जँचाउने?

कुन उमेरदेखि स्त्रीरोग तथा प्रसूति विशेषज्ञको परामर्श लिनुपर्छ? यौन जीवनमा सक्रिय नभएका वा चाँडै प्रवेश गर्ने योजना नभएकाहरुको सवालमा के हुन्छ?

छोटो उत्तर

सक्रिय यौन जीवन भए वा नभए पनि पाठेघरको क्यान्सर परीक्षण २१ वर्षको उमेरदेखि सुरु हुन्छ। किशोरावस्था वा सक्रिय यौनजीवन सुरु गरेका युवतीहरुले क्लामिडियाको परीक्षण वार्षिक रुपमा गराउनुपर्छ।

Hardik ivf

अझ जान्न मन लाग्यो?

प्रजनन स्वास्थ्य स्याहार सम्बन्धि परीक्षण १३ देखि १५ वर्षको उमेरमा शुरु गर्दा राम्रो हुन्छ। धेरै बालरोग विशेषज्ञ र पारिवारिक डाक्टरहरु यसमा सहमत छन्। तर, कसलाई देखाउने भन्ने परिस्थितिमा भर पर्दछ।

डाक्टरसँग गरिने यस्ता भेट महिनावारी सम्बन्धि विषय जस्तै, रक्तश्राव र त्यसबाट हुने पीडा र सुरक्षित यौन सम्बन्धबारे छलफल गर्ने अवसर पनि हुनसक्छ। ह्युमन प्यापिलोमा भाइरस  (एचपीभी) विरुद्धको खोप ९ वर्षको उमेरदेखि सुरु गर्न सकिन्छ। एचपीभी खोप ९ देखि १४ वर्षको उमेरबीच लगाउँदा दुई डोज पर्याप्त हुन्छ। तर, १५ वर्षको उमेरपछि सुरु गरे तीन पटक खोप लगाउनुपर्छ।

कुनै किशोरीले यौन जीवन सुरु गरे वा नगरे पनि पाठेघरको क्यान्सरको परीक्षण २१ वर्षको उमेरदेखि सुरु गर्नुपर्छ। तर, परीक्षण गर्नुअघि नै डाक्टरसँग भेट गर्नु उत्तम हुनेछ। यसले डाक्टरसँग सुमधुर सम्बन्ध बनाउन सहयोग पुग्छ। बालिकाको पहिलो ‘पेल्भिक’ परीक्षण भएकाले यसमा विशेष ध्यान दिनु आवश्यक छ।

कहिले जाने?

महिलाले २१ वर्षको उमेरमा पहिलो पटक स्त्रीरोग विशेषज्ञसँग पाठेघरको क्यान्सर परीक्षणका लागि परामर्श लिनुपर्छ। तर, सक्रिय यौन जीवन भएका २१ वर्षभन्दा कम उमेरका महिला तथा किशोरीले पनि क्लामिडियाको वार्षिक परीक्षण गराउनु पर्छ।

सक्रिय यौनजीवन बिताइरहेका २४ वर्ष वा सोभन्दा कम उमेरका महिलाले वार्षिक रुपमा क्लामिडिया परीक्षण गराउनु अत्यावश्यक छ। अन्य यौन रोगको परीक्षण पनि आवश्यक हुनसक्छ। यसका लागि पिसाबको परीक्षण धेरै प्रभावकारी हुन्छ। त्यसैले ‘पेल्भिक’ परीक्षण नगरे पनि जुनसुकै उमेरका महिलाका लागि पिसाब जाँच गराउनु सजिलो उपाय हुनसक्छ।

महिनावारी नियमित नभए, महिनावारी हुँदा अत्यधिक रक्तश्राव भए वा दैनिक काममा प्रभाव पार्ने गरी धेरै दुखेमा पनि स्त्रीरोग वा प्रसूतिविशेषज्ञलाई देखाउनुपर्छ।

चिकित्सकसँग पहिलो भेटका लागि छोरीलाई कसरी तयार गर्ने?

पहिलो पटक पाठेघरको क्यान्सर परीक्षण गराउन लागेकी युवतीले त्यस अघि कुनै स्त्रीरोग वा प्रसूतिविशेषज्ञसँग ‘चिनापर्ची भेट’ गरे सहज हुनेछ। यसले राम्रो सम्बन्ध विकास गर्नुका साथै चिन्ता पनि हट्नेछ।

असल चिकित्सकले स्वास्थ्य परीक्षणमा प्रयोग गरिने औजार र विधिबारे जानकारी गराउने छन्। पाठेघरको क्यान्सर परीक्षण गराउनुको महत्वका साथै यौन संक्रमण र पेल्भिक परीक्षण सम्बन्धि जिज्ञासा पनि हल गर्नेछन्।

कुनै किशोरी वा महिलाले ट्याम्पोन वा मेन्सुअल कप प्रयोग गरिरहेको भए, उनलाई परीक्षणमा बढी सहजता हुनसक्छ। यद्यपि, प्रत्येक व्यक्ति भिन्न हुन्छन्।
यौन सम्पर्कको दुखाई सम्बन्धि विशेषज्ञ भएकीले धेरै महिलाका गुनासाहरु सुनेकी छु।

युवा अवस्थामा गरिएको पीडादायी परीक्षणका कारण उनीहरु अभिघात पीडित छन्। पेल्भिक परीक्षण पीडादायी हुनुहुँदैन। तनाव हुनसक्छ वा “अनौठो” लाग्न सक्छ तर परीक्षण गर्दा पीडा हुनुहुँदैन। छोरीलाई पेल्भिक परीक्षणको क्रममा दुख्यो भने चिकित्सकलाई जानकारी गराउन र परीक्षण रोक्न भन्नुहोस्।

मनन गर्नुपर्ने

किशोरावस्थाबाट वयस्क उमेरमा प्रवेश गर्दै गरेकी छोरीको स्वास्थ्यबारे ध्यान दिनु महत्वपूर्ण छ। ध्यान रहोस्, उनीहरुले नबताए पनि केही किशोर किशोरीहरुको यौनजीवन सुरु भएको हुनसक्छ वा सुरु गर्ने योजनामा हुनसक्छन्। त्यसैले छोरीलाई डाक्टरसँग गोप्य रुपमा छलफल गर्न प्रस्ताव गर्नुपर्छ। यसो गर्दा उनले निर्धक्क कुरा गर्न सक्छिन्।

डा. जेन गुन्टर स्त्रीरोग विशेषज्ञ तथा द भजाइना बाइबलकी लेखक हुन्। उनी न्यूयोर्क टाइम्समा द साइकलकी स्तम्भकार पनि हुन्।

 

प्रकाशित मिति: ०७:०० बजे, बुधबार, जेठ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्