Kathmandu Press

एउटै गाउँमा फल्यो डेढ करोडका सुन्तला

काठमाडौं, पुस १७ : सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका...
एउटै गाउँमा फल्यो डेढ करोडका सुन्तला

काठमाडौं, पुस १७ : सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् ।

अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औशे  किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष रु डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी दिए । गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड भित्र्याएको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ ।

Hardik ivf

सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइ नसकेको अर्का किसान रामबहादुर खड्का बताउँछन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानासहित जिल्लाका अन्य स्थानमा यस वर्ष ३० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । वडा कार्यालयले सुन्तला उत्पादन भए अनुसार यस वर्ष डेढ करोडका सुन्तला बिक्री गर्ने आकलन गरेको छ । सिगानामा अहिले प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री भइरहेको छ ।

सिगानामा राम्रो फल लागिरहेका १५ हजार सुन्तलाका बोट छन् । जसमध्ये बढीमा एक बोटबाट रु २५ हजारदेखि रु पाँच हजारसम्मका सुन्तला उत्पादन हुन्छन् । वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ भने सुन्तला लगाउँदा गुमेको कृषि उपज बराबरको रकमसमेत बागलुङ नगरपालिकाले दिने गरेको छ । नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक रु एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् । सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, दमेक लगायत ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् ।

जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । अहिले सिगाना सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर बनिसकेको छ । सिगानाको उपल्लो भागमा चिया र तल्लो भागमा सुन्तला खेती विस्तार गर्ने बागलुङ नगरपालिकाको योजनाअनुसार अनुदानको कार्यक्रमसमेत निरन्तर गरिएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । 

प्रकाशित मिति: ०८:४१ बजे, शुक्रबार, पुस १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्