Kathmandu Press

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न गरियो : मुख्यमन्त्री पौडेल

हेटौँडा, पुस १६ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन्। नेकपा मकवानपुरको आयोजनामा बिहीबार...
समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न गरियो : मुख्यमन्त्री पौडेल
मुख्यमन्त्री डोरमणि पौडेल।

हेटौँडा, पुस १६ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन्। 

नेकपा मकवानपुरको आयोजनामा बिहीबार हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाइका साथ अगाडि बढाइने बताए।

उनले गत निर्वाचनमा जनताले व्यापक जनसमर्थनसहित कम्युनिष्ट पार्टीलाई शासन सत्ताको नेतृत्व सुम्पिएको उल्लेख गर्दै सरकारले जनचाहना अनुरुप नै रेलदेखि पाइलाइनबाट तेल ल्याउनेसम्मको काम गरेको बताए। 

यस्तै उनले कालापानी लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउने, सगरमाथाको उचाइ मापन गर्ने, व्यक्तिले हडपेका सार्वजनिक जमीन फिर्ता ल्याउनेदेखि देशलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने, भत्किएको धरहरा ठड्याएर नेपाली स्वाभिमान उठाउने, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणदेखि ठूला विकास आयोजनाको द्रुततर विकास, गाउँगाउँमा सडक, यातायात, प्राविधिक शिक्षालयको व्यवस्था, आधारभूत अस्पतालको व्यवस्थालगायत समृद्धिका लागि भएका प्रयास भुल्न नहुनेमा जोड दिए। 

“मूलतः नेकपाका श्रदेय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताका सन्दर्भमा प्रदर्शन गर्नुभएको चट्टानी अडान, भारतीय दबाब, हैकमलाई बेवास्ता गर्दै, नाकाबन्दीलाई घुँडा टेकाउँदै संविधान निर्माणमा खेल्नुभएको भूमिका, विकास र समृद्धिका लागि देखाउनुभएको सपना, जनजीविकाका सवालमा देखाउनुभएको संवेदनशिलतालगायत कारणले जनताले समृद्ध नेपाल, सुखी नेपालीको जिम्मेवारीसहित नेकपालाई जनमत दिएका थिए”, पौडेलले भने। रासस

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, पुस १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्