Kathmandu Press

तामाङ-मुश्लिम बच्चामा आँखा क्यान्सर बढी : डा. बेन लिम्बू

काठमाडौं, जेठ १ :  नेपालमा हरेक वर्ष करिब सय बालबालिकामा आँखाको क्यान्सर हुन्छ। रेटिनोब्लास्टोमा भनिने यो रोग कसरी लाग्छ र यसबाट कसरी बच्ने?....

तामाङ-मुश्लिम बच्चामा आँखा क्यान्सर बढी : डा. बेन लिम्बू
इन्द्रसरा खड्का

काठमाडौं, जेठ १ :  नेपालमा हरेक वर्ष करिब सय बालबालिकामा आँखाको क्यान्सर हुन्छ। रेटिनोब्लास्टोमा भनिने यो रोग कसरी लाग्छ र यसबाट कसरी बच्ने? यस विषयमा तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. बेन लिम्बूसँग काठमाडौं प्रेसकी इन्द्रसरा खड्काले गरेको कुराकानीः

रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) कस्तो रोग हो?
पाँच वर्षमुनिका बालबालिकामा हुने एक प्रकारको आँखाको क्यान्सर हो, रेटिनोब्लास्टोमा। यो क्यान्सर आँखाको भित्री भागबाट पलाउँछ र अन्ततः आँखाको सबैतिर फैलिएर अन्धोपन हुन्छ। नेपालमा २० हजार नवजात शिशुमध्ये १ जनामा यस्तो क्यान्सर देखापर्छ। यो रोगले बच्चाहरूको एक वा दुबै आँखा प्रभावित पार्न सक्दछ। तर, धेरैजसो बालबालिकालाई एउटा मात्र आँखामा असर पारेको पाइएको छ। 

के कारणले रेटिनोब्लास्टोमा रोग लाग्छ?
कसैलाई जन्मजात रेटिनोब्लास्टोमा हुन्छ। कसैलाई जन्मिसकेपछि हुन्छ। ४५ प्रतिशत बालबालिकालाई वंशाणुगत रुपमा यो रोग लाग्छ भने ५५ प्रतिशत बालबालिकालाई अन्य तरिकाले लाग्नसक्छ। 

जिनको डिफेक्टले यो रोग लाग्छ। यसलाई जेनेटिक रोग पनि भनिन्छ। आमाबुवाकै जिनमा डिफेक्ट हुँदा पनि बच्चामा यो रोग लाग्न सक्छ। कसैमा आमाबुवामा जिन डिफेक्ट नहुँदा पनि यो रोग लाग्छ। 

याे पनि

रेटिनोब्लास्टोमा सप्ताहः तपाईंको बच्चालाई पनि आँखाकाे क्यान्सर छ कि !

यसका लक्षणहरू के के हुन्?
आँखाको नानी सेतो देखिनु, आँखा डेडो हुनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखा ठूलो हुनु र आँखा बाहिर निस्कनु यसका लक्षणहरू हुन्।

तिलगंगा अस्पतालमा कति बालबालिका रेटिनोब्लास्टो लागेर आउँछन्?
तिलगंगा अस्पतालमा वर्सेनि ६० जना रेटिनोब्लास्टामा लागेका बालबालिका उपचारका लागि आउँछन्। नेपालभरि करिब करिब १सय जना बालबालिका बर्सेनि यो रोगबाट ग्रसित हुन्छन्। 

हामीकहाँ अधिकांश बालबालिकालाई अन्तिम अवस्थामा ल्याइन्छ। आँखाको क्यान्सरलाई हामीले ए, बी, सी, डी र ई गरी पाँच समूहमा राखेका छौँ। पहिलो र दोस्रो अवस्थामा अस्पताल आएका बालबालिकाको आँखा र ज्यान जोगाउन सकिन्छ भने डी र ई भनेको अन्तिम अवस्था हुन्। सी अवस्थामा अस्पताल पुर्‍याउँदा पनि नियमित उपचार गरायो भने निको हुन्छ। अन्तिम अवस्थामा अस्पताल ल्याइएका बालबालिकालाई जोगाउन मुश्किल पर्छ। कतिपय बालबालिकाको ज्यान जोगाउन पनि आँखा निकाल्नुपर्ने हुन्छ। तर आाखा निकाल्ने कुरा गरे अभिभावक राजी हुँदैनन्। यसले पनि समस्या हुन्छ।

नेपालमा कुन कुन अस्पतालमा यसको उपचार हुन्छ?
नेपालका २७ वटा आँखा अस्पतालमा यो रोगको उपचार हुन्छ। उपत्यकामा ८ वटा अस्पतालमा उपचार हुन्छ। काठमाडौं मेडिकल कलेज, तिलगंगा आँखा अस्पताल, टिचिङ अस्पताल, नेपाल आँखा अस्पताल, पाटन अस्पताल, ग्लोबल आँखा केन्द्र, दृष्टि आँखा केन्द्र, नेशनल आइमएइ हस्पिटल सेन्टरमा यो रोगको उपचार हुन्छ। तर, एउटै अस्पतालमा सबै उपचार हुँदैन। एउटा अस्पतालमा एउटा त अर्को अस्पतालबाट अर्को सेवा  उपलब्ध छ। यसको उपचारमा दक्ष जनशक्ति र प्रविधिको अभाव छ।

रेटिनोब्लास्टामाबाट जोगिन के गर्ने? 
विहे गर्दा धेरै ध्यान दिनुपर्छ। अहिले यो रोग सबैभन्दा धेरै मुस्लिम र तामाङ समुदायका बालबालिकामा देखिएको छ। यो रोग जिनको कारण लाग्छ। यो समुदायमा आफ्नै नातेदार अथवा हाडानाताभित्रै विहे गर्ने प्रचलन छ। यसले गर्दा जुन आमाबुवामा यस्तो रोग थियो, उनीहरूबाट जन्मेका बालबालिकामा बंशाणुगतमै रुपमै यो रोग देखिन्छ। जुन शरीरमा हुने जिन छ, त्यो जिन त्यही वरिपरि घुम्छ। क्यान्सरको जिन मिसिएपछि यो रोग लाग्छ। 

रोगबारे अभिभावक कत्तिको जानकार छन्?
आँखाको नानीमा सेतो दाग देखियो भने कतिपयले भाग्य चम्किएको ठान्छन्। यो अन्धविश्वास हो। अभिभावकहरू बालबालिकाको आँखामा क्यान्सर रोग लाग्छ भन्ने अहिलेसम्म पत्याउँदैनन्। अशिक्षा, अज्ञानता र अन्धविश्वासले पनि बालबालिकाहरू यो रोगको शिकार बन्ने गरेका छन्। 

तपाईंको सुझाव?
यो रोग ९० प्रतिशत बालबालिकामा ३ वर्षमुनि देखा पर्छ भने कतिपयमा ७, ८ वर्षमा पनि देखा पर्छ। यो रोग पत्ता लगाउन सजिलो उपाय छ। तपाईंको बच्चालाई अध्यारोमा कोठामा राख्नुहोस् अनि मोबाइलको उज्यालो गरेर हेर्नुस्। आँखाको नानीमा जुन सेतो दाग छ त्यो सजिलै देखिन्छ। यो सेतो दाग देखा पर्ने बित्तिकै स्वास्थ्य संस्थामा लगेर चिकित्सकको सल्लाह लिनुपर्छ। कुनै पनि लक्षण देखापर्‍यो भने स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ। समयमै रोगको पहिचान भयो भने यो रोग ठिक हुन्छ। यदि हेल चेक्र्याइँ गर्नुभयो भने बच्चाको ज्यान समेत जानसक्छ।


 

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, जेठ १, २०७६