Kathmandu Press

वागमती सफाइको ४०० औँ हप्ता : सात स्थानमा चेतना जगाइने

काठमाडौं, पुस १६ : वागमती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ। सफाइ...
वागमती सफाइको ४०० औँ हप्ता : सात स्थानमा चेतना जगाइने

काठमाडौं, पुस १६ : वागमती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ। सफाइ महाअभियानको बुधबारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय गरेको छ।

जनचेतनामूलक सफाइ अभियानपछि दिउँसो मीनभवनमा ४०० औँ हप्ताको मुख्य कार्यक्रम गरिने अभियानकर्मी गोविन्द काफ्लेले बताए। जनचेतनामूलक कार्यक्रमका लागि संयोजकसमेत तोक्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले अभियानकर्मीहरु नरेश रञ्जित, ताराबहादुर कुँवर, लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ। मीनभवनमा भने मूल कार्यक्रम गर्न लागिएकाले त्यहाँको नेतृत्व महाअभियानले नै गर्ने जनाइएको छ।

सफाइको ४०० औँ हप्ताको नारा र स्टिकर भने तयारीका लागि छलफल जारी छ। यसै हप्ताभित्र त्यसको निर्णय भइसक्ने जनाइएको छ। सार्वजनिक र निजी यातायातमा सफाइसम्बन्धी चेतना जागृत हुने किसिमका स्टिकर र परिचय पुस्तिका समेत वितरण गर्ने महाअभियानको तयारी छ। 

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरुआत भएको सफाइ महाअभियान आगामी पुस २५ गते शनिबार ४०० औँ हप्तामा प्रवेश गर्दैछ। बैठकमा चीनका लागि पूर्व नेपाली राजदूत समेत भएका उनले स्थानीय तहलाई सफाइमा जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए। बैठकले काठमााडौँ उपत्यकाका नगरपालिकालाई पनि सफाइमा परिचालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

उनले नदी एवं सार्वजनिक स्थलमा फोहर फाल्नेलाई स्थानीय तहले जरिवाना गर्नुपर्ने व्यवस्था गर्न महाअभियानका तर्फबाट अनुरोध गरिने बताएका थिए। गत शनिबार बुद्धनगर क्षेत्रको नदी किनारमा फोहर फाल्ने सात जनाबाट काठमाडौँ महानगरपालिकाले जरिवाना गरी २३ हजार रुपैयाँ जम्मा गरेको छ। जरिवना गरिएको निश्चित प्रतिशत फोहर फाल्नेको सूचना दिनेलाई दिई प्रोत्साहनको व्यवस्था गर्न पनि महाअभियानले उपत्यकाका स्थानीय सरकारसँग माग गरेको छ।

महाअभियानले यसअघि नै थापाथली र त्रिपुरेश्वर क्षेत्रको सफाइको जिम्मेवारी महानगरपालिका ११ नं. वडालाई दिइसकेको छ। त्यसैगरी अन्यत्र पनि जिम्मेवारी दिइने जनाइएको छ। बैठकमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरुले विभिन्न स्थानमा बिच्छ्याएको ढल टालिएकाले नदीमै फोहर पानी आउन थालेको गुनासो गरेका जनाइएको छ।

सफाइ महाअभियानको ४०० औँ हप्ताको अवसर पारेर अधिकार सम्पन्न वागमती नदीको शिरोभाग सुन्दरीजल क्षेत्रमा माछाका भुरा छोड्ने तयारी समेत गरेको सो अवसरमा जानकारी दिइएको थियो।

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, पुस १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्