जुकाको चुसाइबाट छालाको उपचार
जुकाको चुसाइबाट छाला, युरिक एसिड, टाउकाको रौँ झर्ने, अनुहारमा डन्डिफोर आएको, पुराना दाद, पायल्सलगायत जटिल रोगका बिरामी निको भइसकेका छन् ।
तनहुँ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा लिच थेरापी (जुकाको चुसाइ)बाट बिरामीको उपचार गर्न थालिएको छ । केन्द्रका प्रमुख डा. रामप्रबोध मण्डलको पहलमा लिच थेरापीबाट बिरामीको उपचार गर्न थालिएको हो ।
लिच थेरापीबाट छाला, युरिक एसिड, टाउकाको रौँ झर्ने, अनुहारमा डन्डिफोर आएको, पुराना दाद, पायल्सलगायत जटिल रोगका बिरामी निको भइसकेको कार्यालयका सूचना अधिकारी बलभद्र वाग्लेले बताए ।
- लिच थेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज बन्ड (मधुमेहका घाउ), हाइपरटेन्सन थ्रम्बोसिस (ब्लड क्लाउट), सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेसनलगायत रोगको उपचार गर्न सकिन्छ ।
जुकाले मानव शरीरमा चुस्ने क्रममा निस्किने स्रावमा ‘हिरुडिन’ नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ ।
नेपाल पत्रकार महासंघ, तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले यस पद्धतिबाट उपचार गरेका छन् । उनले भने, ‘दिनमा एकपटकका दरले तीन दिन जुकालाई चुसाउँदा छालाको समस्या न्यूनीकरण हुँदै गएको छ । अब आफू निको हुनेमा विश्वस्त छु ।’
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रामप्रबोध मण्डलले गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका ३ हजारका दरले किनेर ल्याएका थिए । उपचार विधि प्रभावकारी बन्दै गए पनि यहाँको पानीमा बढी मात्रामा चुन मिसिएको पाइएकाले जुका मर्ने गरेको छ, जसका कारण उपचारमा समस्या भएको छ । ‘एउटा जुकालाई बिरामीको समस्या भएको ठाउँबाट ५–१० मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ,’ उनले भने, ‘एक जना बिरामीको बढीमा सात पटकसम्म रगत चुस्न लगाइन्छ ।’
लिच थेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज बन्ड (मधुमेहका घाउ), हाइपरटेन्सन थ्रम्बोसिस (ब्लड क्लाउट), सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेसनलगायत रोगको उपचार गर्न सकिन्छ ।
जुकाको र्यालमा एक सयभन्दा बढी यस्ता तत्त्व हुन्छन्, जसले रगतलाई शुद्ध र पातलो बनाउँछ । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार गर्नसमेत सहयोग पुर्याउँछ । मण्डलले भने, ‘तन्तु र मासु कुहिन दिँदैन, जुकाले तन्तु प्रवर्धनका लागि थप सहयोग गर्छ ।’
एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य व्यक्तिमा प्रयोग गर्न मिल्दैन । उनले भने, ‘नियमित रूपमा थेरापी गराउनुपर्ने व्यक्तिमा प्रयोग गरिएको जुकालाई पुनः उसकै लागि प्रयोग गर्ने गरी संरक्षण गरेर राख्नुपर्छ ।’ एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुस्न लगाइनेछ । बिरामीको अवस्था हेरी दुईदेखि माथि जुकाको प्रयोग गर्न सकिने डा. मण्डलले बताए ।











