Kathmandu Press

विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजा

चितवन, पुस १५ : चितवनको माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ। शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा...
विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजा

चितवन, पुस १५ : चितवनको माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ। शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार आठ सय ९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो। नगरपालिकाले एक विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले विद्यालयमा बजेट पठाएर दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए।

मेयर ढकालले भने, 'विपन्न परिवारका विद्यार्थीले बीचमा विद्यालय छाड्ने क्रम बढेसँगै यो कार्यक्रम लागू गरिएको हो।' विद्यालयमा विद्यार्थीबीच एकरूपता ल्याउनका लागि सबै विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको हो।

विद्यालयलाई विद्यार्थीका लागि हप्तामा ६ दिन फरक–फरक किसिमका खाजा खुवाउन नगरपालिकाले परिपत्रसमेत गरेको छ। सबै विद्यालयलाई खाजामा एकरूपता ल्याउन नगरपालिकाले खाजासमेत तोकेर पठाएको छ।

खाजामा लिटो, अण्डा, चना, खिर, भुजा–चनालगायतका खानेकुरा विद्यार्थीलाई दिउँसोमा दिइने छ। विद्यालयमा दिवा खाजा कार्यक्रम नहुँदा १५ देखि २० प्रतिशतसम्म विद्यार्थीले विद्यालय छाडेको उनले बताए। (रासस)

प्रकाशित मिति: १०:२५ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्