नेपालीको मुहार उज्यालो हुने क्षेत्र नै बजेटको प्राथमिकता हुनेछ: अर्थमन्त्री खतिवडा
काठमाडौं, वैशाख ३१ : अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै ....

काठमाडौं, वैशाख ३१ : अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै आएको बताएका छन्।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने बताए।
अर्थमन्त्री डा.खतिवडाले भने, ‘हामी बजेट अनुशासन र मापदण्डमा बस्नुपर्दछ, त्यसका लागि सबैको सहयोग आवश्यक छ, वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ, ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा अन्तर प्रदेशबीचको सन्तुलन कायम गरिनेछ।’
संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेको लक्ष्य हासिल गर्ने विषयलाई आधार बनाएर बजेट बनाइने बताउँदै उनले क्षेत्रगत आधारभन्दा नीतिगत, कार्यगत र योजनागत आधारमा बजेट विनियोजन हुने स्पष्ट पारे।
राज्यका सिद्धान्त, मौलिक हक, प्रेस स्वतन्त्रता, मानवअधिकारसँग उठेको प्रश्न कानून निर्माणका क्रममा संसद्मा आगामी दिनमा पर्याप्त छलफल हुने बताउँदै अर्थमन्त्री डा.खतिवडाले बनेका कानूनलाई कार्यान्वयन गर्नेमा सरकार प्रतिबद्ध रहेको बताए। ‘क्षेत्रगत आधारभन्दा नेपालीको अनुहार जहाँ उज्यालो हुने देखिन्छ त्यो नै प्राथमिकता हो । अहिलेको बजेट क्षेत्रगत प्राथमिकतामा अल्झदैन,’ उनले भने।
बजेट विनियोजन गर्दा जनसङ्ख्या र भौगोलिक सन्तुलन दुवै महत्वपूर्ण हुने उनको भनाइ थियो। प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मापदण्डलाई मुख्य आधार मानिने बताउँदै अर्थमन्त्री खतिवडाले भने, ‘सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै लगिनेछ, नीति तथा कार्यक्रम र बजेटमार्फत् वित्तीय सङ्घीयता कार्यान्वयन हुने अवस्थामा पुगेको छ।’
बैठकमा सभामुख कृष्णबहादुर महराले सांसदले विधेयकका बारेमा उठाएका विषय र सुझावलाई एकीकृत गरी सम्बोधनका लागि अर्थ मन्त्रालयमा पठाइने बताए।
प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ ६ गते बिहान ११ बजे बस्नेछ।











