Kathmandu Press

एक हजारलाई रोजगारी दिँदै रुपाकोट रिसोर्ट  

दमौली, पुस १३ : गत वर्षको कात्तिक २९ गते बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद कास्कीस्थित रुपाकोट रिसोर्ट पुगेका थिए। डेढ घण्टा रिसोर्टमा रहेका...
एक हजारलाई रोजगारी दिँदै रुपाकोट रिसोर्ट  

दमौली, पुस १३ : गत वर्षको कात्तिक २९ गते बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद कास्कीस्थित रुपाकोट रिसोर्ट पुगेका थिए। डेढ घण्टा रिसोर्टमा रहेका उनले त्यहाँबाट रुपा, बेगनास ताल र हिमशृङ्खला अवलोकन गरे। त्यसबेला उनले भनेका थिए, “यहाँ आउन पाउँदा खुशी छु, असाध्यै राम्रो ठाउँ रहेछ ।”

राष्ट्रपति हमिदको भ्रमणपछि उक्त रिसोर्टले थप चर्चा कमायो । सोही रिसोर्टले शनिबार छैठौं वार्षिकोत्सव मनाएको छ । रुपा गाउँपालिकामा अवस्थित रुपाकोट रिसोर्टले पाँच वर्षभित्र एक हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले एक हजार जनालाई रोजगारी सिर्जना गर्ने गरी पूर्वाधार निर्माणलाई जोड दिइएको जानकारी दिए।

यसका लागि विभिन्न ‘प्रोजेक्ट’ निर्माण गर्न लागिएको उनले बताए। सोही ठाउँमा स्वीङ पार्क, होटल व्यवस्थापन कलेज, रुपाकोट टुर्स एण्ड ट्राभल्स कम्पनीलगायतका प्रोजेक्ट सञ्चालनमा आउने सञ्चालक अधिकारीले जानकारी दिए। “रुपाकोट रिसोर्टले अहिले एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, एक हजार रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

रिसोर्टमा ४२ कोठा रहेकामा २५ कोठा थप हुँदैछ । रेष्टुरेन्ट, स्पा, साउना, मेडिटेसन हल, योगा हल, जिम हल, स्विमिङ पुलसहित पाँच तारे होटलमा चाहिने सम्पूर्ण सेवा पर्यटकलाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो । थप संरचना निर्माण भइसक्दासम्म रिसोर्टमा एक अर्ब १० करोड रूपैयाँ लगानी हुनेछ । 

सञ्चालक अधिकारीका दुई छोराले हाल रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी निभाइरहेका छन्। जेठो छोरा सुशील अधिकारी रिसोर्टको प्रबन्ध निर्देशक छन् भने कान्छो छोरा मनिष अधिकारी कार्यकारी निर्देशकको भूमिका छन्। 

होटल सोल्टीको जागिरले व्यवसायी बनायो

उनको अङ्ग्रेजी निकै राम्रो थियो, नेपालमै पनि उनको राम्रो जीवन हुनसक्थ्यो । बीचमा परराष्ट्र सेवामा जाने सोच पनि पलाएको थियो, किनभने त्यतिबेला अङ्ग्रेजी राम्रो चाहिन्थ्यो । अहिले दुईजना त उनका समकालीन साथी राजदूत छन्। पछि उनले संयोगवश सोल्टी होटलमा जागिर पाए।  त्यो उनका लागि होटलको क्यारियर जस्तै भयो, सोल्टीबाटै उनले धेरै कुरा सिक्ने अवसर पाए।  

“म सधैँ भन्ने गर्छु साधारण गाउँले केटोबाट महत्वाकांक्षी व्यवसायीमा रुपान्तरण गरायो । सोल्टीबाटै मलाई देश विदेश घुम्ने अवसर पनि मिल्यो । मैले सोल्टीबाट जे सिक्यो बेल्जियम रहँदा त्यसलाई उपयोग गर्ने मौका मिल्यो,” उनले भने, “त्यसबाट हामीलाई केही आर्थिक आर्जन भयो ।” लामो समयको बेल्जियम बसाइँपछि उनी रुपाकोट फर्किए, रुपाकोट उनको जन्मिएको ठाउँ हो।

“यहाँका रुखका पात झर्दा, पालुवा पलाउदा मैले मेरो बाल्यकाल सम्झिन्छु । विदेशमा लामो समय बसेपछि नेपाललाई मैले कहिल्यै बिर्सिन,” उनले विगत सम्झदै भने, “म विश्वका जुनसुकै ठाउँ पनि जान सक्थे, मेरो शैक्षिक योग्यताका कारण । तर मैले त्यसबेला बेल्जियम रोजेको थिएँ । मैले जहिले पनि नेपालको बारेमा सोच्थे । नेपाल कसरी फर्किने त भन्ने बारेमा पनि म सधैँ सोचिरहन्थे।”

नेपाल फर्किने एउटा योजना बनाउन थालेपछि उनी सन् २००० मा नेपाल फर्किए। “त्यसैको परिणामस्वरुप आजको रुपाकोट रिसोर्ट हो । रुपाकोट फर्किएर आउँदादेखि नै यो ठाउँ हराभरा हुनसक्छ भन्ने सोच पहिल्यैदेखि म मा थियो,” उनले भने। उनी भन्छन्, “तिमीले जे चाहन्छौं, त्यो चाहेको चीज पाउँदैनौ, तर जे चीज तिमीले चाहिन्छ भनेर लाग्छौ त्यो चीज अवश्य पनि पाइन्छ भन्ने मैले अनूभुति गरेँ । जङ्गललाई मङ्गल बनाउनु र खरबारीलाई घरबारी बनाउन त्यतिबेला निकै चुनौतीको काम थियो । तर म चुनौती मन पराउने मान्छे, हिम्मत कहिल्यै हारिन । रुपाकोट हरेक चीजले भरिपूर्ण छ, यदि कमी छ भने हाम्रो सोचाइ र महत्वाकाङ्क्षाको कमी छ।” 

रिसोर्टले स्वीङ पार्क प्रोजेक्ट छिट्टै शुरु गर्दैछ । २० रोपनी क्षेत्रफलमा स्वीङ पार्कसँगै झरना, स्वीमिङ पुल, रेष्टुरेन्टलगायत निर्माण गर्ने योजना छ । त्यसका लागि इन्भेष्टमेन्ट बैँकसँग ऋण सम्झौता भइसकेको छ । “हामीले १८औं शताब्दीको पहिचान झल्किने वल्र्ड भिलेज पनि निर्माण गर्दैछौ । ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने वर्ल्ड भिलेजमा त्यस शताब्दीका पहिचान झल्कने विभिन्न संरचना बनाउँदैछौ,” आगामी योजनाबारे उनले सुनाए।

“हाम्रो उद्देश्य भनेको एक हजार रोजगारी सिर्जना गर्नु हो । यसबीचमा कोभिडका कारण धेरै समस्या बनायो । रुपाकोट रिसोर्टमा होटल व्यवस्थापन कलेज स्थापना गर्ने लक्ष्य राखेका छौँ। पाँच तारे होटलका लागि जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित होटल व्यवस्थापन कलेज स्थापना गर्न लागेका छौ,” उनले भने। 

बेल्जियमबाट फर्किंदा आफूले धेरै कुरा लिएर आएको र सबैभन्दा ठूलो कुरा आत्मविश्वास र सम्बन्ध भएको अधिकारी बताउँछन्। “त्यही सम्बन्धले हामीलाई होटल व्यवस्थापन कलेज सफल बनाउन सहयोग गर्छ। रुपाकोट रिसोर्ट छ वर्ष पूरा भएको छ । यसबीचमा हामीले धेरै आरोह अवरोह पार गर्‍यौँ। भूकम्प, नाकाबन्दी, कोभिड झेल्दै रुपाकोट रिसोर्ट आज यहाँसम्म आइपुगेको छ,” सञ्चालक अधिकारीले भने। रासस
 

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्