एकै वडामा एक सय ६३ को बालबिबाह
डोटी, वैशाख ३१ : दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा एक सय ६३ बालविवाह भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।
सामुदाय....

डोटी, वैशाख ३१ : दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा एक सय ६३ बालविवाह भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।
सामुदायिक विकास केन्द्र (सीडीसी) संस्थाले गरेको सर्वेक्षणअनुसार एकै वडामा यति ठूलो संख्यामा बालविवाह भएको पाइएको हो।
सीडीसीले सार्वजनिक गरेको तथ्याङ्कमा २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको छ।
त्यस्तै २०७३ मा एक सय ३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले बताए। ‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरिदिएको देखिन्छ,’ उनले भने।
बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको संस्थाले गरेको अनुसन्धानमा देखिएको छ। मुख्यतया बालविवाह परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको पाइएको छ।
यो वडामा हालसम्म परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले एक, राम्रो घर परिवार पाउँदा सात, चाँडो विवाह गर्ने मान्यतामा पाँच, मेला पर्वमा एक, भविष्य राम्रो हुने आशामा एक र अन्य कारणले ८० बालविवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताए।
नगरपालिका मेयर मञ्जु मलासीले बालविवाह र बालश्रमिक राख्ने प्रचलन अन्त्य गर्न कार्यक्रम संचालन गरिएको बताइन्। ‘बालविवाह र बालश्रम अन्त्यका लागि हामीले विभिन्न काम गर्दै आएका छौँ, बालश्रम राख्ने र बालविवाह गर्नेलाई कानूनी दायरामा ल्याउँछौं,’ उनले भनिन्। (रासस)











