Kathmandu Press

चिया मजदुर र उद्योगीबीच सहमति, आन्दोलन फिर्ता

झापा, वैशाख ३१ : आन्दोलनरत चिया मजदुर र  उद्योगीबीच तीन बुदे सहमति भएको छ। सहमतिसँगै चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन्।

श्रम ऐन र न....

चिया मजदुर र उद्योगीबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौं प्रेस

झापा, वैशाख ३१ : आन्दोलनरत चिया मजदुर र  उद्योगीबीच तीन बुदे सहमति भएको छ। सहमतिसँगै चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन्।

श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने नेपाल चिया उत्पादक संघले लिखित सहमति गरेपछि मजदुरहरूले आन्दोलन फिर्ता लिएका हुन्।

चिया बगान र उद्योगका सञ्चालकले सरकारले तोकेको न्यूनतम ज्याला दिन नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर आन्दोलनमा थिए। उनीहरू कामकाज छोडेर सडकमा उत्रिएपछि उद्योगीहरू वार्ता गर्न वाध्य भएका थिए।

हिजो राति विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको विभिन्न संघसंगठनबीच तीन बुँदे सहमति भएको हो।

नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब दुई सय ३१ रुपैयाँ, महङ्गी भत्ता एक सय ४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ दिने सहमति भएको अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का उपाध्यक्ष सन्तकुमार राईले बताए। यो सहमति सबै चिया बगान तथा कारखानामा कार्वान्यन गर्न उद्योगी सहमत भएका छन्।

त्यस्तै, गत साउनदेखि नपाइरहेको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा भुक्तानी गर्न पनि उद्योगी सहमत भएका छन्।

श्रम ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आवद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गरिने उल्लेख दोस्रो बुद्धामा उल्लेख छ।

तेस्रो बुँदामा गत चैत १७ गतेदेखि बन्द रहेका चिया बगान आजदेखि खुला गर्ने र मजदुर काममा फर्किने उल्लेख गरिएको छ।

सहमतिपत्रमा नेपाल चिया उत्पादक संघका तर्फबाट छत्रबहादुर गिरी, चण्डी पराजुली, शिवकुमार गुप्ता, हरि गिरी र कुमार गिरीले तथा मजदुरका तर्फबाट अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई, भूपाल सापकोटा, सन्तकुमार राई, यज्ञप्रताप अधिकारीलगायतले हस्ताक्षर गरेका छन्।

सहमति भएकाले मजदुर आजदेखि नै काममा फर्किने नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बताए। चिया क्षेत्रमा कार्यरत ५० हजार मजदुर विगत ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनमा थिए।

प्रकाशित मिति: १०:२० बजे, मंगलबार, वैशाख ३१, २०७६