Kathmandu Press

गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद

म्याग्दी, पुस ११ : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ।गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको...
गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद
फाइल तस्वीर।

म्याग्दी, पुस ११ : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्याैट, प्रगति समीक्षा, शिक्षा र स्थानीय वातावरण संरक्षण ऐनसम्बन्धी विधेयकलगायत ११ वटा प्रस्तावको विषयमा निर्णय गरे पनि पालिकास्तरीय अस्पताल बनाउने ठाउँ टुङ्गो लगाउन नसकेपछि शुक्रबार पुस १३ गतेसम्मका लागि स्थगित भएको छ। 

पटक-पटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनोट गरेर अस्पताल बनाउने वैधानिक बाटो खुलाउन बोलाइएको रघुगङ्गाको गाउँसभालाई स्थानीय र जिल्लास्तरमा महत्वका साथ हेरिए पनि निर्णय हुन नसकेपछि अन्योल सिर्जना गरेको छ। थप छलफल र अध्ययन गर्नुपर्ने भएकाले अस्पताल विवाद टुङ्ग्याउन सोमबारसम्मका लागि गाउँसभा स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो। २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा १० श्यया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो। 

गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्लेलाई राखेको थियो। पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउने निर्णयलाई तोडमोड गरेर पालिकाको केन्द्र मौवाफाँटमा सार्न खोजिएको भन्दै वडाध्यक्ष जीवनबहादुर मल्ललगायत पिप्लेका जनप्रतिनिधिहरुले गाउँसभा नै बहिष्कार गरेपछि विवाद थप जटिल बनेको छ। 

ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेन। चालू आर्थिक वर्षमा रु ८३ लाख विनियोजन भएको अस्पतालको भवन निर्माण गर्ने योजना अन्योलमा परेको छ। जग्गासमेत व्यवस्थापन गरिसकेको र ठाउँ नै तोकिएकाले बेगमै अस्पताल बनाउनुपर्ने बेगका वडाध्यक्ष बिलप्रसाद फगामीले बताए। मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ। रासस

प्रकाशित मिति: १०:०२ बजे, शनिबार, पुस ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्