झलनाथ खनाल भन्छन्– ओली सच्चा कम्युनिष्ट नै भइसकेका रहेनछन्
काठमाडौं, पुस ९ : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली सच्चा कम्युनिष्ट...
काठमाडौं, पुस ९ : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली सच्चा कम्युनिष्ट नभएको बताएका छन्।
बिहीबार बल्खुस्थित पार्टी कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै खनालले ओली कम्युनिष्ट भइनसकेको बताएका हुन्। उनले प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरे।
हरेक पार्टीभित्र मतभिन्नता हुने बताउँदै उनले भने,‘पार्टीभित्र मतभिन्नता हुनु सामान्य कुरा हो। मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ। तर, कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भइसक्नुभएको रहेनछ।’
खनालले संसद विघटन संविधान विरोधी काम भएको पनि बताए। ‘संसद विघटन संविधान र लोकतन्त्र विरोधी अपराध हो। यो जनादेश र जनताको भावना विरुद्ध छ,’ उनले भने। उनले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी पनि गरे।











