Kathmandu Press

'भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो'

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल भएको बताएका छन्।

प्रधानमन्त्री ओली भियतनाम भ्रमण सकी आज....

'भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो'
फाइल फोटो

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल भएको बताएका छन्।

प्रधानमन्त्री ओली भियतनाम भ्रमण सकी आज बिहान कम्बोडिया प्रस्थान गरेका छन्। भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते भियतनाम पुगेका थिए।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधनगरेका थिए।

कम्बोडिया प्रस्थान गर्नु अघि प्रधानमन्त्री ओलीले  रासससँगको संक्षिप्त कुराकानीमा भनेका छन, ‘भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो।’

प्रधानमन्त्रीज्यू  भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो?

यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिए।

पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा एक सय १२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिनु, यी दुवै सन्दर्भबाट यो भ्रमण सफल र सार्थक रह्यो।

यो भ्रमणले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन कतिको सफल र सहज रहँला?

हो, नेपाल  र भियतनाम लामो समयदेखिका मित्रहरू हुन् जसको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भएको छ तर, प्रधानमन्त्रीको स्तरमा यो मेरो भ्रमण पहिलो हो। यस सिलसिलामा विभिन्न पक्षसँग घनिभूत छलफल भएका छन्। अब हाम्रो कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ। व्यापार विस्तार हुन्छ।

नेपाली उत्पादनको निर्यात बढ्छ । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ ।  यो भ्रमणबाट ती काम हुन्छन्।

यहाँले विश्व समुदायसँग आगामी वर्ष वैशाख दिवसको कार्यक्रम नेपालको लुम्बिनीमा गर्ने उद्घोष गर्नुभएको छ, त्यसको तयारी के छ?

मैले यस विषयमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको छु र केही आन्तरिक तयारी पनि हुँदैछ।

यो भ्रमण साना र विकासशील देशको सहकार्य र एकताको लागि पनि हो कि?

अवश्य पनि, हामी हाम्रा जस्ता समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउछौं। हिजोका दिनमा हामीले असंलग्न आन्दोलनलाई निकै मजबुत बनाएका थियौँ, अब फेरि यस्ता सामयिक मुद्दा सशक्तरूपले अगाडि बढाउनुपर्ने छ।

यो भ्रमणको सिलसिलामा केही दुई पक्षीय सम्झौता भएका छन् अब यसको कार्यान्वयन पक्ष कस्तो रहँला?

यी सम्झौता छिट्टै कार्यान्वयनमा आउँछन् । यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ यसले आजबाटै काम शुरु गरेको छ।

 

प्रकाशित मिति: १०:४२ बजे, सोमबार, वैशाख ३०, २०७६