Kathmandu Press

आफ्नै गाउँ जान चाहिन्छ भारतीय अनुमति!

दार्चुला, वैशाख २९ :   व्यास गाउँपालिका–१ छाङ्गरूका ६५ वर्षीया हाजी बोहरालाई कुञ्चा सर्दा जहिल्यै तनाव बढ्छ। उनलाई बसाइँसराइ नगर्....

आफ्नै गाउँ जान चाहिन्छ भारतीय अनुमति!

दार्चुला, वैशाख २९ :   व्यास गाउँपालिका–१ छाङ्गरूका ६५ वर्षीया हाजी बोहरालाई कुञ्चा सर्दा जहिल्यै तनाव बढ्छ। उनलाई बसाइँसराइ नगर्नु परे हुने थियो जस्तो लाग्छ। गाइबस्तु, घोडा खच्चड, चौँरी लालाबालासहित बसाइँ सर्नुपर्छ। बसाइँसराइ गर्दा जहिल्यै तनाव दिने विषय हो। आफ्नै गाउँ जान भारतीय अनुमति।

सदरमुकाम खलङ्गाबाट गाउँ पुग्न एक साता लाग्छ। झण्डै ५-६ दिन भारतीय बाटोको प्रयोग गर्नुपर्छ। भारतले आफ्नो बाटो प्रयोग गर्न अनुमति दिनुपर्छ। भारतको मात्र हैन, आफ्नै वडा कार्यालयको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयलेसमेत बहुयात्रा अनुमतिपत्र दिनुपर्छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनुमतिपत्रका आधारमा भारतीय सरकारले अनुमति स्वीकृत गर्छ। 

Hardik ivf

“नेपाली तर अनुमतिविना आफ्नै देशको भूमि जान सकिँदैन”, उनले भनिन्, “नेपालतिर बाटो भइदिएको भए भारतीय पक्षको झन्झट सहनुपर्दैन थियो, पशुचौपायासहित जाँदा एकहप्ता लाग्छ, बाटोघाटो छैन्।” अहिले भारतलेसमेत सडक निर्माण गरिरहेको हुँदा ठाउँठाउँमा बाटो अवरूद्ध छ। 

देशमा तीन तहको सरकार बनेको छ। तर, आफ्नै भूमि जान बाटो बनाउन सकिरहेका छैनन्। झण्डै ६० को दशकसम्म आफ्नै भूमि भएर जाने गोरटो बाटो राम्रै थियो। पछिल्लो समय सो सडक निर्माणमा कसैले ध्यान दिएनन्। स्थानीय सरकारले बाटो मर्मत एवं निर्माण गर्ने भनेर गत वर्ष बजेट विनियोजन गरे पनि नटिकेको स्थानीयवासी मानसिंह तिंकरीले बताए। 
    
तिंकरीले भने, “नेपालतिर बाटो भएन, घोडा खच्चड, गाई गोरू, झुपा चौँरी गाई लिनका लागि भारतीयसँग हार गुहार गर्नैपर्छ, पटकपटक नेपालतिरको बाटो निर्माण हुँदैछ, कुञ्चा सर्नसम्म बाटो बन्छ भन्ने सुन्छाैं, तर अहिले आएर पूरै भारतीय बाटो भएर आउनुपर्छ।” 
    
मान्छेका लागि भारत धारचुलाका उपजिल्ला अधिकारीलाई निवेदन लेख्नुपर्छ भने पशु चौपायाका लागि पशुपालन विभाग उत्तराखण्डलाई निवेदन दिनुपर्ने स्थानीयवासी जीवन बोहराले जानकारी दिए। शुरूमा वडा कार्यालयमा निवेदन, वडाले जिल्ला समन्वय, जिल्ला प्रशासन कार्यालयमार्फत मान्छेको अनुमति बनाउँछन् भने पशुका लागि पशु क्वारेन्टाइनले स्वीकृत दिनुपर्छ। दुवैतिर झण्झटिलो प्रक्रिया रहेको उनले बताए। 
    
बसाइँसराइ स्थानीय भाषामा (कुञ्चा) सर्ने तयारी गर्न झण्डै एक महिना समय लाग्छ। नेपालतिर कुञ्चा सर्नका लागि मान्छे हिँड्नसमेत साँघुरो बाटो छ। खलङ्गाबाट हिँडेका व्यासीहरू क्रमशः ऐलागाड, पाङ्ला, नज्याङ, लामारी, बुदी, गागा छाङ्गरू हुँदै सातौँ दिन तिंकर पुग्ने गर्छन्।  कुञ्चा सर्नेमध्ये एकैदिन सयौ पशु तथा ३०–४० घरधुरीको बसाइँसराइ शुरू भएको छ। 
    
व्यासीहरू ६ महिना सदरमुकाम खलङ्गाको बसाइँपछि पुरानो घर कुञ्चा सरेका हुन्। सदरमुकाम खलङ्गामा गर्मी बढेको छ। गाउँमा चिसो मौसम हुन्छ भने खेतीपाती भित्र्याउनेदेखि लिएर जडीबुटी सङ्कलनका लागि पनि बसाइँ सर्नुपरेको स्थानीयवासी सुकराज ऐतवालले बताए। उनीहरू ६ महिना तिंकरमा बसोबास गर्छन् भने हिमपात हुन थालेपछि चिसो छल्न सदरमुकाम खलङ्गा झर्ने गर्छन्।
    
त्रिदेशीय सीमा क्षेत्रमा बसोबास गर्ने व्यासी सौका समुदायको मुख्य पेशा व्यापार हो। समुद्र सतहबाट १२ हजार फिट उचाइमा रहेको सो गाउँमा हिमपात बढी हुने गर्छ। स्थानीयले वर्षको एकपटक उवा, नप्पल, तिते फापर, पल्ती र आलु प्रमुख खाद्य बालीका रूपमा लगाउने गर्छन्। उनीहरूको घर जग्गा जमीन सदरमुकाम खलङ्गामा समेत छ।  रासस
 

प्रकाशित मिति: २०:०८ बजे, आइतबार, वैशाख २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्