देउवाको प्रश्न–जय नेपाल नभनेर के जय इन्डिया, जय चीन भन्ने?
काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जय नेपाल भनेर सम्बोधन नगरे के भनेर गर्ने भन्ने प्रश्न गरेका छन्।&....
काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जय नेपाल भनेर सम्बोधन नगरे के भनेर गर्ने भन्ने प्रश्न गरेका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा देउवाले जय नेपाल भनेको नेपालीको जय होस् भएको बताएका हुन्।
महेन्द्रकालीन ‘जय नेपाल’ बोकेर बसेको भन्ने सरकारका प्रवक्ताको टिप्पणीबारे के भन्नुहुन्छ भन्ने पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिँदै देउवाले प्रश्न गरे– जय नेपाल भनेको नेपालको जय होस् भनेको हो। के अब जय नेपाल नभनेर जय इन्डिया भन्ने? कि चीनको जय भन्ने?’
यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कांग्रेस महेन्द्रकालीन ‘जय नेपाल’ बोकेर बसेको टिप्पणी गरेका थिए।
सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल सरकार’ नभनेर ‘मेरो सरकार’ भनेको भन्दै प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको थियो। मन्त्री बाँस्कोटाले मेरो सरकार भन्नु गलत भएको भन्ने कांग्रेसले महेन्द्रकालीन ‘जय नेपाल’ बोकेर बसेको बताएका थिए।






