एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत
काठमाडाैं, वैशाख २९ : एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भ....

काठमाडाैं, वैशाख २९ : एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ।
बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालय पनि परेको हो।
सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखमा गरिएका उद्धरणलगायत मुख्य सूचकलाई आधार मानी सो निर्धारण गरेको हो।
सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्कका आधारमा विश्वविद्यालयको मूल्याङ्कन गरिएको र त्रिभुवन विश्वविद्यालय पहिलो पटक एशियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि सूचीकरण प्रक्रियामा भाग लिएको विश्वविद्यालयले जनाएको छ।
संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयको स्तर निर्धारण मूल्याङ्कनमा विश्वका उत्कृष्ट ८०१–१००० औंँ विश्वविद्यालयको सूचीभित्र त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको थियो। विश्वमा करीब ३० हजार विश्वविद्यालय छन्।
विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाले भने,“यो उपलब्धिबाट हामी थप उत्साही भएका छौं र विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाइ उपलब्ध गराउन हामी क्रियाशील रहनेछौंँ। हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धता र लगनशीलताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हासिल गर्नेछ।” रासस











