मिडिया विधेयक देखेर मालिकको सातो उडेको छ : सञ्चारमन्त्री बाँस्कोटा
नुवाकोट, वैशाख २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया विधेयक देखेर मालिकको सातो उडेको बताएका छन्। उनले पत्रकारको हकहितकै ....

नुवाकोट, वैशाख २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया विधेयक देखेर मालिकको सातो उडेको बताएका छन्। उनले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको दाबी गरेका छन्।
आज नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याउन लागिएको बताए। ‘मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ। कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ,’ उनले भने।
उनले श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गरे। श्रमजिवी पत्रकारको अधिकार दिलाएरै छाड्ने बताउँदै उनले भने, ‘सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ। नागरिकले देशमा बसेपछि देशको कानून मान्नुपर्छ, नियम कानून सबैका लागि बराबर हुनुपर्छ।’
उनले विधेकय देखेर मालिकको मात्रै टाउको दुखेको जिकिर गरे। ‘सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुपर्यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो,’ मन्त्री बाँस्कोटाले भने।











