Kathmandu Press

यार्साका लागि दुई महिनासम्म विद्यालय बन्द

रुकुम, वैशाख २९ : यार्सागुम्बा संकलनका लागि पूर्वी रुकुमका विद्यालय दुई महिना बन्द हुने भएका छन् । यार्सा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जा....

यार्साका लागि दुई महिनासम्म विद्यालय बन्द
फाइल फोटो

रुकुम, वैशाख २९ : यार्सागुम्बा संकलनका लागि पूर्वी रुकुमका विद्यालय दुई महिना बन्द हुने भएका छन् । यार्सा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असारभरी बन्द हुने भएका हुन्।

प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन्। विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने गर्दछन्।

उक्त गाउँपालिकामा रहेका विभिन्न पाटनमा पाइने यार्सा जेठको दोस्रो सातादेखि टिप्न शुरु हुने गर्दछ। पाटनमा रहेका यार्सा संरक्षणका लागि मैकोटका युवा अहिले त्यसतर्फ गएका छन्।

हरेक वर्ष जेठको पहिलो साताबाट यार्सा सङ्कलन गर्ने भए पनि यो वर्ष हिउँ भएकाले ढिला गरेर सिजन शुरु हुन लागेको वडा नं १ का अध्यक्ष मकरबहादुर गुरुङले बताए। यार्सा टिप्न जेठको दोस्रो सातादेखि खुल्ला गरिने भए पनि वैशाख अन्तिम सातादेखि नै यहाँका स्थानीयवासी पाटन जाने गर्दछन्।

स्थानीय सबै यार्सा टिप्न पाटन गएपछि यहाँका विद्यालय आगामी जेठ ४ गतेबाट असार अन्तिमसम्म बन्द गर्ने निर्णय नै गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले जनकारी दिए। शिक्षक तथा विद्यार्थी यार्सा टिप्न पाटन जानेभएपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए।

यो समयमा यहाँका स्थानीय बासिन्दाले ५० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्छन। (रासस)

 

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, वैशाख २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्