Kathmandu Press

कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सकिँदै

काठमाडौं, वैशाख २९ : मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्र सकिने भएको छ।

....
कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सकिँदै

काठमाडौं, वैशाख २९ : मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्र सकिने भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा भएको आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच भएको बैठकमा विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्र सक्ने निर्णय गरिएको छ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भएको छ। ‘विद्युतगृहका टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान करिब सम्पन्न भएको छ, अहिले उपकरणहरुको ड्राईटेस्ट भइरहेको छ, सुरुङ पेनस्टक पाइप हुँदै मेन इनलेटभल्वसम्मका सम्पूर्ण संरचना तथा उपकरणहरुको परीक्षण भइसकेको छ,’ घिसिङले भने। जतिसक्दो छिट्टो आयोजनाबाट विद्यत् उत्पादन गर्न सबै उपाय अपनाइएको उनको भनाइ छ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एन्ड कन्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनले ढिलाइ भएको छ।

त्यस्तै, कामदारको पारिश्रमिकको समस्या समाधान गर्न प्राधिरकणले आइतबार नै रकम पठाएको छ। कम्पनीले विद्युतगृह तथा प्रसार लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरुले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए। कम्पनीले श्रमिकलाई करिब १८ लाख रुपैयाँ दिन बाँकी छ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।  ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले गरेको थियो। 

प्रसारण लाइनको तीनमध्ये दुइटा टावरको निर्माण सकिएको छ। कम्पनीले बाँकी एउटा टावर खडा गरिरहेको छ। त्यसपछि पाँच सय मिटर तार तान्नु पर्ने छ। ठेकेदार कम्पनीले यो काम एकहप्ताभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। 

नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको यो आयोजनाको सुरुको लागत दुई अर्ब ३३ करोड रुपैयाँ थियो। निर्माण अवधि बढेसँगै आयोजनाको लागत चार अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ।

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, वैशाख २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्