बैंकले धेरै ब्याज असुले, एकल अंककाे मात्रै कायम गरौँ : डा. भट्टराई
काठमाडौं, वैशाख २९ : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले संसदमा प्रस्तुत भएको बजेटको सिद्धान्त र ....
काठमाडौं, वैशाख २९ : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले संसदमा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकताले उच्च आर्थिक बृद्धि हासिल गर्न नसक्ने बताएका छन्।
आइतबारदेखि प्रतिनिधि सभामा सुरु भएको छलफलमा भाग लिंदै डा.भट्टराईले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा खास नयाँ योजनानै नरहेको बताएका छन्।
उनले नेपालमा बैंक तथा सहकारीहरुले लिने ब्याजले लगानीकर्ता आउन नसकेको समेत बताएका छन्। ‘विगतमा राम शाहको पालामा पनि १० प्रतिशतभन्दा बढी ब्याज लिन पाइदैन थियो तर, अहिले बैंक तथा वित्तीय संस्थाहरुले मनपर्दी ब्याज लिएका छन्,’ भट्टराईले भने।
सरकारले बजेट र मौद्रिक नीतिमार्फत रोक्न नसके लगानी आउन समस्या नहुने उनको भनाइ थियो। ‘एकल अंकको प्रतिशतभन्दा बढी ब्याज लिनु गलत हो, बैंकहरुले मात्रै पैसा कमाउने प्रथाको अन्त्य गराउन सरकारले कार्यक्रम ल्याउनु पर्छ,’ भट्टराईले भने।
अर्थमन्त्री डा.युवराज खतिवडाले शुक्रबार आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेका थिए। अर्थमन्त्री डा. खतिवडाले २०३० अगाडि नै दीगो विकास लक्ष्य हासिल गर्ने गरी बजेट आउने बताएका थिए। तर डा.भट्टराईले यही अवस्थामा दीगो लक्ष्य हासिल हुन नसक्ने बताए।






