सभामुख सापकोटाको प्रष्टिकरण : संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सचेत छु
काठमाडौं, मंसिर ३० : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय संघीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताएका छन्...
काठमाडौं, मंसिर ३० : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय संघीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताएका छन् ।
सभामुख सापकोटाका तर्फबाट उनका प्रेसविज्ञ श्रीधर न्यौपाने मंगलबार जारी गरेको प्रेस नोटमा भनिएको छ, “जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै छ ।”
संवैधानिक परिषद्को बैठकका सम्बन्धमा सभामुख सापकोटाको विषयमा जोडेर आएका प्रचारका सन्दर्भमा स्पष्ट पार्न प्रेस नोट जारी गरिएको बताइएको छ । यही मङ्सिर २८ गते सङ्घीय संसद् सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान साढे ८ बजे सङ्घीय संसद्, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयं सभामुखले आफ्नै अध्यक्षतामा आयोजना गरिएकाले संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको प्रेस नोटमा उल्लेख छ ।
“आजको बैठकका सम्बन्धमा सभामुखले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराइएको थियो। राज्य सञ्चालनमा दीर्घकालीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ,”प्रेस नोटमा भनिएको छ।
“नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधिसभाको विपक्षीदलको नेतासमेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात् गर्नुभएको छ, ” प्रेस नोटमा भनिएको छ,
उनले संसद्लाई जीवन्त र जनमुखी बनाउने सूत्रवाक्यलाई हृदयङ्गम गरी जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको उल्लेख गरेका छन्। जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उनले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै रहेको स्पष्ट पारिएको छ ।
“उहाँ सङ्घीय संसद्को गरिमा कायम राख्दै संवैधानिक परिषद्को मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत हुनुहुन्छ , ” प्रेस नोटमा भनिएको छ।











