Kathmandu Press

नेकपाको सरकारकै पालामा मेलम्चीको पानी काठमाडौं आउँछ: प्रचण्ड

काठमाडौं, वैशाख २७ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको....

नेकपाको सरकारकै पालामा मेलम्चीको पानी काठमाडौं आउँछ: प्रचण्ड

काठमाडौं, वैशाख २७ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याएरै छोड्ने बताएका छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याएरै छोड्ने बताएका हुन्।

केही व्यक्तिहरु नै मेलम्ची आउन नदिन लागिपरेको बताउँदै उनले नेकपा नेतृत्वकै सरकारको पालामा मेलम्चीको पानी काठमाडौं आउने स्पष्ट पारे। प्रचण्डले अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताए।  ‘म र प्रधानमन्त्री हामी दुबै हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउन दृढ छौं,’ उनले भने।  

‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्,’उनले भने,‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन। तर, विगतका अनुभव हेर्दा कठोर कदम नचलाएर मेलम्चीको पानी आउन गाह्रो छ।’ प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोग जस्तै भएको टिप्पणी गरे। 
 

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, वैशाख २७, २०७६