जेलभित्रै अनसन बसेकी पूर्वसभासद् साह अस्पताल भर्ना
काठमाडाैं, वैशाख २७ : स्वास्थ्यमा समस्या आएपछि जेलभित्रै अनसन बसेकी पूर्वसभासद् गायत्री साहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
....
काठमाडाैं, वैशाख २७ : स्वास्थ्यमा समस्या आएपछि जेलभित्रै अनसन बसेकी पूर्वसभासद् गायत्री साहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
आफैले जन्म दिएको बच्चालाई बुझ्न अस्वीकार गरेको र अस्पतालमै अलपत्र छोडेर भागेको आरोपमा पक्राउ परेकी साह हिरासतभित्रै अनसनमा बसेपछि स्वास्थ्यमा समस्या आएको हो। स्वास्थ्यमा समस्या आएपछि पूर्वसभासद् साहलाई ललितपुरको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमोरियाले जानकारी दिए।
उपचारमा संलग्न डाक्टरले ६ दिनसम्म अनसन बसेकाले स्वास्थ्य कमजोर भएको बताएको पूर्वसभासद् साहका उनका भाइ सुवास साहले बताए। उनका अनुसार पूर्वसभासद् साहलाई मानसिक समस्या पनि देखिएको छ।
गत आइतबार अस्पतालमा होहल्ला गरेको र आफैले जन्मदिएको बच्चा बुझ्न नमानेको आरोपमा पूर्वसभासद् साह र उनका पति राजेशलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि प्रहरी हिरासतमा रहेका साह दम्पति अनसनमा बस्दै आएका छन्।
गत फागुन २८ गते मेडिसिटी अस्पतालमा पूर्वसभासद् साहले छोरा जन्माएकी थिइन्। छोराको दुबै खुट्टा बाङ्गा भएपछि एनआइसीयुमा राखिएको थियो। तर, पूर्वसभासद साहले अस्पतालकै लापरबाहीका कारण बच्चामा डाउनसिन्ड्रोम देखिएको भन्दै बच्चा बुझ्न अस्वीकार गर्दै आएकी थिइन्।
पूर्वसभासद् साहका छोरालाई अहिलेपनि मेडिसिटी अस्पतालको एनआइसीयुमा राखिएको छ।






