Kathmandu Press

सगरमाथा राष्ट्रिय निकुञ्जमा राजश्व संकलनमा ह्रास

सोलुखुम्बु, मंसिर २८ : सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व संकलनमा गिरावाट आएको छ। मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व संकलनमा करिब ९९ प्रतिशतले...
सगरमाथा राष्ट्रिय निकुञ्जमा राजश्व संकलनमा ह्रास

सोलुखुम्बु, मंसिर २८ : सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व संकलनमा गिरावाट आएको छ। मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व संकलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए।

गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट चार करोड २८ लाख ९८ हजार ५५३ रुपैयाँ र हेलिकोप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १५ लाख २४ हजार ६११ रुपैयाँ राजश्व संकलन गरेको थियो।  कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट पाँच लाख १६ हजार ३५० र हेलिकोप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ २५ पैसा मात्रै संकलन गरेको जनाएको छ। 

निकुञ्जको मुख्य आम्दानी नै सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट लिने प्रवेश शुल्क र हेलिकोप्टर अवतरण तथा वन पैदावर शुल्क हो। खुम्बु क्षेत्रका लागि वर्षमा दुईपटक चैत–जेठ र असोज–मङ्सिरलाई मुख्य पर्यटकीय मौसम मानिन्छ।  यही मौसममा कोभिड– १९ को महामारी विश्वभरी फैलिएपछि नेपालमा पनि लकडाउनले पर्यटक आवागमन ठप्प बनाएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व संकलनमा भारीमात्रामा गिरावट आएको हो। उनका अनुसार विदेशी पर्यटकबाट प्रतिपर्यटक तीन हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५०० र एकपटक हेलिकोप्टर अवतरण गरेबापत तीन हजार रुपैयाँ अवतरण शुल्क लिने गरेको छ।

विसं २०३२ मा स्थापना भएको निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन्।

सन् १९७९ देखि निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको थियो। निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ।

यसैबीच राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार चालू आवको पहिलो चौमासिकमा ६८८ पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्। कोरोना कहरका बीच चालू आवको साउन, भदौ, असोज र कात्तिक महिनामा १३३ विदेशी र ५५५ स्वदेशी पर्यटकले भ्रमण गरेको कार्यालयले जनाएको छ।

गत साउन र भदौमा शून्य बनेको पर्यटन गतिविधि असोजमा १४६ स्वदेशी तथा २५  विदेशी नागरिकले भ्रमण गरेका थिए भने कात्तिकमा ४०९  स्वदेशी तथा १०८  विदेशी पर्यटकले भ्रमण गरेका थिए। गत आवको पहिलो चौमासिकमा १७ हजार ५६६ विदेशी र ४८८ स्वदेशी गरी १८ हजार ५४  पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्