काठमाडौंको कलंकीमा ट्रक दुर्घटना : थप दुई जनाको मृत्यु
काठमाडौं, मंसिर २७ : काठमाडौँको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट ट्रक निकाल्ने क्रममा शनिबार बिहान ट्रकमा...
काठमाडौं, मंसिर २७ : काठमाडौँको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुई जनाको मृत्यु भएको छ।
घटनास्थलबाट ट्रक निकाल्ने क्रममा शनिबार बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरीको मृत्यु भएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। उनका अनुसार चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शंकर परियारको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार भइरहेको प्रहरीले जनाएको छ।
हेटौँडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई कलंकीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो। परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ।
उक्त ट्रकले अन्य स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। रासस











