विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना
संखुवासभा, मंसिर २६ : संखुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन्।आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा...
संखुवासभा, मंसिर २६ : संखुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन्।
आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईँले बताए। उनले भने, 'विवाहका लागि छुट्याएको रकम कटौती र टीका लगाएर जम्मा भएको रकमबाट गरिब विद्यार्थीको भविष्य उज्ज्वल बनोस् भनेर कोषको स्थापना गरेको हुँ।'
उनी नेपाली सेनामा कार्यरत छन। बजगाईँले वैवाहिक जीवनको शुभारम्भको अवसरमा वरुण बहुमुखी क्याम्पस खाँदबारीमा एक लाख २५ हजार पाँच सय २५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाइँ’ अक्षयकोष स्थापना गरेका हुन्। नवविवाहित दम्पती पवन र समीक्षाले विवाहकै दिन एक कार्यक्रम गरी क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई रकम हस्तान्तरण गरेका छन्।
त्यसैगरी जिल्लामा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा ११ हजार एक सय ११ हस्तान्तरण गरेका छन्। उनले महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङमा अध्ययनरत सुस्त श्रवण तथा बाहिरा स्रोत कक्षाका विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेका छन्। (रासस)











