हिरासतभित्रै युवक गम्भीर घाइते हुँदा तनाव, प्रहरी कार्यालयमा ताेडफाेड, हवाइ फायर र अश्रुग्यास प्रहार
भरतपुर, वैशाख २७ : प्रहरी हिरासतमा रहेका युवक गम्भीर घाइते भएपछि चितवनको भरतपुरमा तनाव उत्पन्न भएको छ। स्थानीय बासिन्दाले प्रहरी कार्यालयमा ढुंगामुडा ....

भरतपुर, वैशाख २७ : प्रहरी हिरासतमा रहेका युवक गम्भीर घाइते भएपछि चितवनको भरतपुरमा तनाव उत्पन्न भएको छ। स्थानीय बासिन्दाले प्रहरी कार्यालयमा ढुंगामुडा गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेकाे छ।
रत्ननगर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ गम्भीर घाइते भएका हुन्। उनले बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैले लगाएको सर्टमा झुण्डिएर आत्महत्या गर्न खोजेको प्रहरीको भनाइ छ। उनलाई झुण्डिएको अवस्थामा शौचालयमा भेटेको प्रहरीले बताउँदै आएको छ।
गम्भीर घाइते अवस्थामा रहेका उनलाई भरतपुर अस्पताल ल्याइएको थियो। घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनलार्य भेन्टिलेटरमा राखिएको प्रहरीले जनाएको छ।
उनी वैशाख २५ गते चोरीको आरोपमा पक्राउ परेका थिए। प्रहरीले कुटपिट गरेर घाइते बनाएको परिवारजनको आरोप छ।
समिरको मृत्यु भएको हल्ला चलेपछि उनका आफन्त र स्थानीय बासिन्दाले प्रहरी कार्यालयमा तोडफोड गरेका हुन्। उनीहरूले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।
प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको छ। सात राउन्ड हवाइ फायर र केही राउन्ड अश्रुग्यास प्रहार गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
प्रहरीले राजमार्ग संचालनमा ल्याएको छ भने प्रदर्शनमा उत्रिएका १५ जनालाई नियन्त्रणमा लिएको छ।











