मकवानपुरमा पत्रकारलाई मासिक चार हजार पेन्सन दिइने
बागमती, मंसिर २५ : नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक...
बागमती, मंसिर २५ : नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजारका दरले पेन्सन दिने भएको छ।
पत्रकार महासंघ मकवानपुर शाखाका अनुसार कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै प्रतिपत्रकार मासिक चार हजारको दरले पेन्सन दिनका लागि थप प्रक्रिया अघि बढाइएको छ। पेन्सन दिनका लागि यसअघि नै हेटौँडा उपमहानगरपालिकाले १० लाख उपलब्ध गराएका थियो।
यो रकम पत्रकार महासङ्घ मकवानपुर शाखाले वाणिज्य बैंकमा खाता खोलेर जम्मा गरेको छ। मुद्दति खातामा रहेको दुई लाखसमेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको १० लाखको ब्याजबाट पेन्सन दिन लागिएको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताए। पेन्सनसम्बन्धी कार्यविधिलाई महासङ्घको मंसिर २६ गतेको साधारणसभाले पारित गर्नेछ।
महासङ्घ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकास गर्नका लागि पेन्सन दिन लागिएको जनाएको छ। लगातार कम्तीमा २० वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिइनेछ।
राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनै पनि सङ्घ संस्था, गैरसरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईंले बताए। ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिनेछ।
सिफारिसका लागि पत्रकार महासङ्घ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासङ्घ मकवानपुर शाखाको पूर्वअध्यक्षहरुमध्येबाट एक जना सदस्य र पत्रकार महासङ्घ मकवानपुरको वर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था गरिएको छ।
मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरको सदस्यले महासङ्घ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ। मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासङ्घको जानकारीमा आएमा लगत कट्टा गरिने महासङ्घ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताए।
पेन्सन कोषको सञ्चालन महासङ्घ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्धसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ति सङ्घ, सस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम कोषमा राखिनेछ। नेपाल पत्रकार महासङ्घ मकवानुर शाखामा हाल १०३ जना साधारण सदस्य छन् भने यस वर्ष ६० जनालाई नयाँ सदस्यता वितरणका लागि लागि प्रदेश महासङ्घमा सिफारिस गरिएको शाखाले जनाएको छ। (रासस)











