धुलिखेल–सूर्यविनायक सडक विस्तार योजना एक दशकदेखि अलपत्र
काठमाडौं, मंसिर २४ : उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार योजना एक दशकपछि पनि सुरु हुन सकेको छैन।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग...
काठमाडौं, मंसिर २४ : उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार योजना एक दशकपछि पनि सुरु हुन सकेको छैन।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले एक दशक अघि तीनकुने–सूर्यविनायक सडक ६ लेनमा विस्तार गरेको थियो। जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन सकेको छैन।
सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेल सडक र विपी राजमार्गको धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवास सडक गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना रहेको छ। यो आयोजनाले सूर्यविनायकदेखि धुलिखेल सडकमा निर्माण वा विस्तारको काम नगरेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए।
अहिले डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका विभिन्न खण्डमा मर्मतको काम गरिरहेको छ। उनले भने, “विस्तारका लागि योजना बनेपछि मात्रै हामीले काम गर्नैछौँ।”
झण्डै एक दशक पहिलेदेखि नै यो सडक विस्तारका लागि छलफल भइरहे पनि निर्णय भएको छैन। जाइकाले यो सडकमा पूर्व अध्ययनसमेत गरिसकेको छ। अध्ययनको लामो समय बितिसक्दा पनि निर्माणका लागि सम्झौता नभएकाले विस्तृत अध्ययन हुनसकेको छैन।
गत वर्ष जाइकाले कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ निर्माण गर्ने गरी छलफल हुँदा विभागले त्यससँगै यो सडकको विस्तारका लागि समेत प्रस्ताव गरेको थियो।
बागमती प्रदेश र प्रदेश २ का जिल्लाबाट समेत काठमाडौं भित्रिने नाकाका रूपमा यो सडक रहेको छ। अरनिको, विपी राजमार्गसँगै मध्यपहाडीलगायतका राजमार्गसमेत सञ्चालनमा आएसँगै काभ्रेपलाञ्चोकको बनेपाबाट भक्तपुरसम्म सवारी चाप बढिरहेको छ।
यस सडकमा साँझको समयमा सवारी साधनले उपत्यका भित्रिन घन्टौँ जाममा बस्नुपर्ने अवस्था छ। (रासस)











