नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने रुसको चाहना
काठमाडौं, मंसिर २३ : रुसले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ। विगतदेखि नै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रयास गरिरहेको रुसले...
काठमाडौं, मंसिर २३ : रुसले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ।
विगतदेखि नै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रयास गरिरहेको रुसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मंगलबार पुनः आफ्नो इच्छा दोहोर्याएको हो ।
नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री पुनसँग शिष्टाचार भेटवार्ता गर्दै विशेष गरी जलविद्युत्मा लगानी गर्न सकिने बताएको हो। रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए।
त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ। राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो।
यस्तै नेपालमा विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो। रसियन प्रतिनिधिमण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिने/नसकिने विषयमा समेत मन्त्री पुनसँग जिज्ञासा व्यक्त गरेको थियो।
प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए।
भेटमा मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिए। बढी भएको विद्युत् निर्यात गर्न भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको उनले बताए। हालसम्म नेपालमा उत्पादित विद्युत् सरकारी कम्पनी (नेपाल विद्युत् प्राधिकरण) खरिद गरी वितरण गर्दै आएको छ।










-1754206481.jpg)
