संघ र प्रदेश २ सरकारबीच घनिष्ठ सम्बन्ध छ : पर्यटनमन्त्री भट्टराई
जनकपुरधाम, मंसिर २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन्।नेपाल नागरिक...
जनकपुरधाम, मंसिर २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले उद्घाटित भवन र टावर संघ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको बताएका हुन्।
संघ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उनले निर्माण गरिएको भवन र टावर संघीयताको विशेषतासँग गाँसिएको प्रतीक भएको बताए। सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उनले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यक रहेको बताए।
मन्त्री भट्टराईले जनकपुरधामबाट अन्तरप्रदेश र अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि धावनमार्गको विस्तार आवश्यक भएकाले जग्गा उपलब्ध र प्रक्रियागत समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच छलफल, समझदारी र सहकार्य गर्नुपर्नेमा जोड दिए।











