अरुण तेस्रोका मजदुर आन्दोलित, परियोजनाको काम ठप्प
संखुवासभा, मंसिर २३ : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन्। सोमबारदेखि मजदुर आन्दोलित हुँदा काम ठप्प...
संखुवासभा, मंसिर २३ : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन्। सोमबारदेखि मजदुर आन्दोलित हुँदा काम ठप्प भएको छ।
अरुणको बाँधस्थल मकालु गाउँपालिकालु–५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्। मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो।
अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका बाँधस्थलको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ।
बाँधस्थलका मजदुरले भौतिक पूर्वाधार कार्यालय सङ्खुवासभाले निर्धारण गरेको दररेटअनुसारको ज्याला नदिएको, आठ घन्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन्।
निर्माण कम्पनीले लामो समयदेखि मजदुरको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असुन्तष्टि जनाउँदै पटक–पटक काम अवरुद्ध गर्दै आएका छन्। अरुण तेस्रोका मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो।
वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुर विशाल चौहानले बताए।
अरुण तेस्रोको बाँधस्थलमा कार्यरत मजदुरले ज्याला बढाउनुपर्ने माग गरेको भए पनि काम भने अवरुद्ध नभएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यको भनाइ छ। बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ।
अरुण तेस्रो परियोजनाको कात्तिक २६ गते प्रधानमन्त्री केपी ओलीले समेत स्थलगत अनुगमन गर्दै काम सन्तोषजनक रहेको बताएका थिए।
अरुण तेस्रो परियोजनामा एक खर्ब ४४ अर्ब लाग्ने अनुमान गरिएको छ। यो परियोजना सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको हो।
मकालु–५ फ्याक्सिन्दा दोभानबाट ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका–२ को पुखुवामा विद्युत् गृहस्थल रहनेछ। विद्युत्गृह पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ। (रासस)










-1754206481.jpg)
