कालोपत्रे नगरेको भन्दै बौद्ध सडक बन्द
साँखु, वैशाख २६ : लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्रे नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध....

साँखु, वैशाख २६ : लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्रे नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन्।
स्थानीय बासिन्दा तथा व्यापारीले आज बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ। आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुपर्ने।
चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताए। चौलागाईंले सडक धुलाम्मे र हिलाम्मे हुँदा व्यापार व्यवसाय ठप्प भएको मात्र नभई करोडौँ लगानी गर्ने दर्जनौँ व्यवसायी पलायन हुनुपरेको गुनासो गरे।
व्यापारी लक्ष्मण दुलालले भने, ‘यो साङ्केतिक विरोध कार्यक्रम मात्र हो, भोलिका दिनमा थप कडा आन्दोलनसहित हामी प्रस्तुत हुनेछौँ। सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको छ, हाम्रो एक सूत्रीय मागको तत्काल सुनुवाइ हुनुपर्छ।’
लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब ८० लाख खर्च भएको जनाएको छ। (रासस)











