Kathmandu Press

लुम्बिनी भ्रमण वर्षको तयारी अन्तिम चरणमा

काठमाडौं, वैशाख २५ : लुम्बिनीको पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६  मनाउँदैछ।  भ्रमण वर्षका माध्यमबाट....

लुम्बिनी भ्रमण वर्षको तयारी अन्तिम चरणमा

काठमाडौं, वैशाख २५ : लुम्बिनीको पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६  मनाउँदैछ।  भ्रमण वर्षका माध्यमबाट लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माण गर्न सकिने अपेक्षा सरकारको छ।

लुम्बिनी विकास कोषको पछिल्लो तीन वर्षको तथ्यांक अनुसार लुम्बिनीमा वार्षिक करिब १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक लुम्बिनी पुगेको छन्। भ्रमण वर्ष २०७६ को वैशाख बुद्ध पूर्णिमाका दिन सुरु गरी ०७७ सालको वैशाख बुद्ध पूर्णिमाका दिन समापन हुनेछ। 

भ्रमण वर्षका कार्यक्रम सञ्चालनका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताइएको छ। कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ। केन्द्र सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षलाई सहयोग पुर्‍याउने मुख्य उद्देश्यसहित लुम्बिनी भ्रमण वर्ष मनाउन लागिएको हो।

लुम्बिनीका साथै यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानहरूको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्‍याउने उद्देश्य पनि लिइएको छ।  लुम्बिनी भ्रमण वर्ष मनाउँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, रोजगारी सृजना हुने, लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन सकिने, होटल, ट्राभल ऐजेन्सी, यातायात व्यवसायको प्रवद्र्धन हुने, लुम्बिनीको महत्व र विकासमा थप टेवा मिल्ने, स्थानीयका उत्पादनले प्राथमिकता पाउने तथा प्रदेश सरकार र लुम्बिनी विकास कोषबीचको सहकार्यमा सहयोग हुनेजस्ता अपेक्षा पनि लिइएको उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री लिला गिरीले बताए। 

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्‍याउने  उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो।  विश्व शान्तिको प्रतीक मानिने लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका विभिन्न देशका पर्यटक बर्सेनी भ्रमण गर्न आउँछन्।

प्रदेश ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको आयोजना तथा सिद्धार्थ होटल एशोसिएशन, नेपाल (सान)को नेतृत्वको टोलीले देशैभर सडक प्रदर्शनी अभियान शुरु गरेको छ। आगामी जेठ ४ गते परेको २५६३ औँ बुद्ध जयन्तीका अवसरमा घोषणा हुन गइरहेको लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न प्रचार अभियान सुरू गरिएको कार्यक्रमका संयोजक रवीन्द्र शर्मा घिमिरेले बताए।

लुम्बिनीको भैरहवाबाट सुरू गरिएको अभियान, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली हुँदै काठमाडौं पुगेको हो। 

यी हुन् मुख्य कार्यक्रम 

मुख्यगरी गौतमबुद्धसँग सम्बन्धित तीन जिल्लाका (रुपन्देही, कापिलबस्तु र नवलपरासीका) तिलौराकोट, गोटिहवा, कुदान, निग्लीहवा, देवदहको पण्डितपुर, रामग्राम, अरौराकोट, सग्रहवा, सिसहनिया, अनोमा नदीलगायतका स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ। बुद्धको जिवनीसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका सातैवटा प्रदेशमा र भारतका कुसीनगर, बोधगया तथा नेपालभारतको सीमास्थल बेलहिया लगायतका ठाउँमा गरिनेछ। 

यी ठाउँमा विभिन्न उत्सव तथा पूजाआजा गरिनेछ। खेलकुद, साहित्य, संस्कृतिलगायतका क्षमता अभिवृद्धि गर्ने कार्यक्रम पनि सञ्चालन गरिनेछ। अन्तर्राष्ट्रिय बौद्ध दर्शन र लुम्बिनीबारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनेछन्। लुम्बिनी भ्रमण वर्षको शुभारम्भ वि.सं. २०७६ वैशाख पूर्णिमामा र समापन समारोह चैतको पूर्णिमाकै दिन गर्ने घोषणा गरिएको छ। 

के छ तयारी?

लुम्बिनी भ्रमण वर्ष २०७६ को लागि प्रदेश सरकारका मुख्यमन्त्रीको अध्यक्षतामा करिब एक सय जनाको मूल समिति गठन गरिएको छ। कार्यक्रम कार्यान्वयन तथा व्यवस्थापनको जिम्मेवारीसहित गठन हुने कार्यकारी समितिको अध्यक्ष प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहने व्यवस्था गरिएको छ। 

१२ सदस्य कार्यकारी समितिले आवश्यकताअनुसार लुम्बिनी विकास कोष, जिल्ला समन्वय समिति, स्थानीय तह तथा निजी क्षेत्रसँग समन्वयमा कार्य सम्पादन गर्नेछ। कार्यकारी समितिले आवश्यकताअनुसार विभिन्न उपसमिति बनाउन सक्ने मन्त्री गिरीले बताए। 

लुम्बिनीमा ८७ देशका वार्षिक साढे १५ लाखसम्म पर्यटकहरू भित्रिने गरेको लुम्बिनी विकास कोषको तथ्याङ्क छ। लुम्बिनी भ्रमण वर्ष घोषणापछि आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ। तर, भैरहवा लुम्बिनी तौलिहवा सडकखण्ड जीर्ण भएकाले पनि आवागमनमा कठिनाइ हुनेछ।

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, वैशाख २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्