कांग्रेस सभापति देउवाको प्रश्न–अब के, हर मेजेस्टिज विद्या भण्डारी गभर्नमेन्ट भन्ने?
काठमाडौं, वैशाख २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेलायती महारानी जस्....
काठमाडौं, वैशाख २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेलायती महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन्।
बुधबार नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले प्रश्न गरे,‘अस्ति संसदमा राष्ट्रपतिले मेरो सरकार भनिन्। योभन्दा अघिका राष्ट्रपति डा. रामवरण यादवले नेपाल सरकार भनेका थिए। बेलायती महारानीको सिको गर्दै के अब हर मेजेस्टिज विद्या भण्डारी गभर्नमेन्ट भन्ने?’
उनले बेलायतमा हर मेजेस्टिज गभर्नमेन्ट भनिएपनि नेपालमा गणतन्त्र स्थापनापछि नयाँ परम्परा सुरु भइसकेकाले अरुको सिको गर्न नहुने बताए।
‘बेलायतमा हर मेजेस्टिज गभरमेन्ट भन्छ। यहाँ नेपालमा पहिले राजा हुँदा श्री ५ को सरकार भनिन्थ्यो,’ देउवाले प्रश्न गर्दैै भने,‘अहिले आएर मेरो सरकार भन्ने? के अब हर मेजेस्टिज विद्या भण्डारी गभर्नमेन्ट भन्ने?'
प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय भाषा बोल्दै हिडेको पनि आरोप लगाए। ‘ओलीले जे पायो त्यही बोल्दै हिडेका छन्,’ देउवाले भने,‘मैले भनेको थिएन नी, कम्युनिष्ट शासन आएपछि यस्तै हुन्छ भनेर।’ उनले कम्युनिष्ट सरकारको तानाशाही प्रवृत्तिविरुद्ध कांग्रेस लडिरहने बताए।






