Kathmandu Press

‘अपांगता भएकै कारण घर र समाजमा दुर्व्यवहार गरिन्छ’

स्वावलम्ब जीवन पद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले भन्छन्, ‘अपांगताका भएको व्यक्तिलाई हेर्ने दुष्टिकोण फेरिएको छैन, बिरामी भन्दै खोरमा थुन्ने गरिन्छ’
‘अपांगता भएकै कारण घर र समाजमा दुर्व्यवहार गरिन्छ’

काठमाडौं, मंसिर १८ : अपांगता भएकै कारण दुर्व्यवहार गरिँदै आएको अपांगता भएका व्यक्तिहरुले बताएका छन्। यसका लागि राज्य पनि जिम्मेवार रहेको उनीहरुको भनाइ छ।

आज नेपालमा पनि अपांगता भएका व्यक्तिहरुको २९औं अन्तर्राष्ट्रिय दिवस ‘कोभिड–१९ पश्चात पुनरागमनको सुनिश्चितता ः अपांगता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा १९९२ देखि हरेक वर्ष ३ डिसेम्बरमा यो दिवस विश्वभर मनाउने गरिन्छ।

अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा अपांगता भएका व्यक्ति भने राज्यका सेवा र सुविधाबाट बञ्चित रहँदै आएका छन्। शहरी क्षेत्रमा अपांगता भएको व्यक्तिहरुलाई सामान्य व्यवहार गरिएपनि ग्रामीण क्षेत्रमा अपांगता भएको व्यक्तिलाई विरामी सोचेर दुर्व्यवहार गरिँदै आएको स्वावलम्ब जीवन पद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले गुनासो गरे। ‘अपांगताका भएको व्यक्तिलाई हेर्ने दुष्टिकोण अझै फेरिएको छैन, बिरामी भन्दै खोरमा थुन्ने गरिएको छ,’ श्रेष्ठले भने।

Hardik ivf

अपांगता भएकै कारण राज्यबाट पाउने सेवा सुविधा पाउन नसकिएको उनले बताए। सरकार र आम नागरिकले गर्ने व्यवहारले अपांगता भएका व्यक्तिलाई थप पीडा दिने गरेको उनको भनाइ छ। ‘सरकारले अपांगता भएका व्यक्तिलाई दिने सेवा सुविधाको नियम बनाएपनि कार्यान्वयन हुन सकेको छैन,’ श्रेष्ठले भने।

अपांगता भएको व्यक्तिलाई सहयोगी सामग्री, भौतिक पूर्वाधार अपांगतामैत्री, रोजगारीको अवसर, सुरक्षा भत्ता र समाजमा नै बस्न पाउनुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उनीहरुको माग छ। राजधानीमा समेत अपांगतामैत्री भौतिक संरचना नभएको उल्लेख गर्दै अन्य क्षेत्रमा राज्यका निकायसम्म पुग्न पनि कठीन हुने गरेको उनीहरुको भोगाइ छ।

ललितपुर कुपण्डेलमा बस्दै आएकी २३ वर्षीया सर्मिला तामाङले पनि राज्यका सेवा सुविधाबाट बञ्चित भएको बताइन्। आठ वर्षको उमेरमा ढाडमा समस्या भएर निको हुने आशले शल्यक्रिया गरेपछि समस्या भएको बताउँदै उनले भनिन्, ‘ह्विल चियरको भरमा कष्ठकर जीवन जिइरहेकी छु, तर राज्यका तर्फबाट खासै सहयोग भएको छैन।’

सरकारले अपांगता भएका व्यक्तिका लागि भत्ताको व्यवस्था गरेको छ। पूर्णरुपले अशक्त भएकालाई मासिक तीन हजार र आंशिक अपांगता भएकालाई एक हजार ६ सय रुपैंया दिने गरेको छ। भत्ता भन्दा पनि रोजगारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। ‘काम गर्न नसक्नेलाई त भत्ता ठिक छैन, काम गर्नसक्नेलाई त त्यस अनुसारको रोजागारी दिनुपर्छ, भत्ता चाहिँदैन,’ उनले भनिन् ।

स्नातक अध्ययन गरेकी उनी बाहिरभित्र गर्न पनि सहरा चाहिन्छ। रोजगारी खोज्नका लागि पनि बाहिर निस्कन समस्या हुने गरेको उनले बताइन। ‘अपांगता भएको व्यक्तिलाई अमानवीय व्यवहार गर्छन। समाजको हेला तथा दुर्व्यवहार सहेर बस्नु परिरहेको छ,’ उनले भनिन्।

नेपालमा अपांगता भएका व्यक्तिको संख्या करिब पाँच लाख छ। उनीहरु राज्यले रोजगारीको व्यवस्था नगर्दा अर्काको भरमा बाचिरहेका छन्। घरपरिवारका सदस्यले समेत राम्रो नजरले नहेर्ने गरेको उनीहरुको गुनासो छ।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्