प्राध्यापकको तालाबन्दीले विश्वविद्यालय एक महिनादेखि ठप्प
चितवन, वैशाख २५ : कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महिनादेखि पठनपाठन ठप्प भएको छ।
गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका....

चितवन, वैशाख २५ : कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महिनादेखि पठनपाठन ठप्प भएको छ।
गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले मोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय बन्द भएको थियो। त्यसयता पठनपाठन हुन सकेको छैन।
विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई मोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ। प्राध्यापकहरूले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन्।
विश्वविद्यालयले मोसो दल्ने त्यही अध्ययनरत ६ विद्यार्थीलाई दुई महिनाका लागि निष्काशन गरेको छ। त्यसलगत्तै अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो।
कोलाक्षपतिका अनुसार अनेरास्ववियुले तालाबन्दी दुई दिनअघि खोलेको भए पनि प्राध्यापक सङ्घले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठनसहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको छ।
राजनीतिक दल र प्राध्यापक सङ्घसँग नियमित छलफल भइरहेको भए पनि निकास निस्कन नसकेको उनले बताए। विश्वविद्यालयमा विगत एक वर्षदेखि विभिन्न आन्दोलनका कारण पठनपाठन र काम प्रभावित हुँदै आएको छ।
गत असार २० गते निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ। यसै क्रममा मोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो। गत एक वर्षमा आधा समय पनि विश्वविद्यालय खुलेको छैन्।











