गाउँका स्कुल खुले, राजधानीसहित शहरमा अन्योल
कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द ग्रामीण क्षेत्रका विद्यालय खुलेका छन्, तर राजधानीसहित शहरमा भने खाेल्ने/नखाेल्ने अन्याेल नै छ।
काठमाडौं, मंसिर १७ : कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द रहेका देशभरका अधिकांश विद्यालय खुलेका छन्। ग्रामीण क्षेत्रमा विद्यालय खुलेपनि काठमाडौं उपत्यकालगायत प्रमुख शहरका विद्यालय खुल्ने÷नखुल्ने अन्योल कायमै रहेको छ।
कोरोना भाइरसको संक्रमण कम भएसँगै देशभरका अधिकांश विद्यालय सञ्चालन भएका हुन्। काठमाडौं उपत्यकाबाहेक अन्य ठाउँका ८० प्रतिशत विद्यालय सञ्चालनमा आएको शिक्षा विभागको जनाएको छ।
उपत्यकामा कोरोनाको जोखिम अझै कायम भएकाले विद्यालय सञ्चालनमा ल्याउन नसकिएको शिक्षा विभागका सूचना अधिकारी माधवप्रसाद दाहाल बताए। ‘कोरोना जोखिम न्युन भएका जिल्लाहरुमा सुरक्षा अपनाउँदै विद्यालय सञ्चालन गरिएको छ,’ दाहालले भने।
बागमती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुरका विद्यालय भने खुल्न सकेका छैनन्। केही विद्यालय खुलेपनि अधिकांश विद्यालय बन्द नै छन्। अन्य प्रदेशमा भने अधिकांश स्थानीय तहले विद्यालय खुलाइसकेको उनले बताए। ‘विद्यालय खोल्ने वा नखोल्ने जिम्मा स्थानीय तहलाई नै दिएका छौं। स्थानीय तहले जोखिम कम हुँदा खोल्ने र जोखिम बढ्दा बन्द गर्ने गरिरहेका छन्,’ विभागका सूचना अधिकारी दाहालले भने।
कोरोनाको जोखिम नियन्त्रण भइसकेको छैन। लामो समयसम्म कोरोना नियन्त्रण गर्न नसक्दा विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन बैकल्पिक शिक्षा लागू गरिएको उनले बताए। ‘बैकल्पिक शिक्षाको पहुँचमा सबै विद्यार्थीलाई समेट्न सकिएको छैन। बैकल्पिक शिक्षाको रुपमा अपनाइएको डिजिटल माध्ययमाबाट ४० प्रतिशतले मात्र शिक्षा लिन पाएको तथ्यांक छ,’ उनले भने।
अन्य ६० प्रतिशत विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन जोखिम न्यून भएका स्थानीय तहमा विद्यालय खुल्ने उनको भनाइ छ। त्यसका लागि सुरक्षा मापदण्ड अपनाउन र सुरक्षित भएर पठनपाठन गर्न मार्गनिर्देशन जारी गरिएको विभागले जनाएको छ।
त्यस्तै, प्याब्सनले पनि विद्यालय व्यवस्थापनमा सहयोग पु¥याउन र विद्यार्थीको एक वर्ष नोक्सान हुन नदिन जोखिम मोलेर भएपनि विद्यालय सञ्चालनगर्न थालिएको जनाएको छ। ‘लामो समयसम्म विद्यालय बन्द गरेर बस्न सक्ने अवस्था छैन। अनलाइन कक्षा सञ्चालन गर्न सबै विद्यार्थी नेटको पहुँचमा छैनन्। जोखिम कम भएको स्थानमा विद्यालय खोल्न अब ढिलाइ भइसकको छ,’ प्याब्सन अध्यक्ष टीकाराम पुरीले भने।
विद्यार्थी र विद्यालय दुवैलाई सहज बनाउन बैकल्पिक शिक्षा लागू गरिएको थियो। तर, नेटको पहुँच नपुगेको स्थानमा पठनपाठनबिना नै शैक्षिक सत्र सकिन थालेपछि विद्यालय सञ्चालन गर्नु परेको उनको भनाइ छ। ‘विद्यालय र विद्यार्थीले जोखिम लिएर नै पठनपाठन भईरहेको छ,’ उनले भने।
नेपाल अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले अभिभावक पनि बालबालिकालाई विद्यालय पठाउन हतार गरेको बताए। ‘विद्यार्थीले घरमा हुँदा नपढ्ने भएकाले अभिभावक आफै विद्यालय पठाउन हतारिएका हुन्,’ अध्यक्ष देवकोटाले भने।
देशभर अधिकांश विद्यालय खुलेपनि काठमाडौंमा उपत्यकामा भने अझै निर्णयमा पुग्न सकिएको छैन। सरकारले स्थानीय तहलाई जिम्मा दिएको भएपनि काठमाडौंका स्थानीय तह अहिले विद्यालय खोल्ने पक्षमा देखिएका छैनन्।
काठमाडौं उपत्यका मेयर फोरमले यस विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाएको छ। मेयर फोरमको बैठकले निर्णय गरेपछि मात्रै राजधानीका विद्यालय खुल्ने जनाएको छ।












-(86)-1764936079.jpg)