Kathmandu Press

राजपालाई प्रधानमन्त्रीको जवाफ–संविधान संशोधन जतिबेला पनि गाउने गीत जस्तो भयो

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको माग जुनसुकै बेला पनि गाउने गीत जस्तो भएको टिप्पणी गरेका छन्। 

राजपालाई प्रधानमन्त्रीको जवाफ–संविधान संशोधन जतिबेला पनि गाउने गीत जस्तो भयो

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको माग जुनसुकै बेला पनि गाउने गीत जस्तो भएको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने,‘संविधान संशोधन भनेको जुनसुकै बेला पनि गाउने गीत जस्तो भएको छ। अहिले यो संशोधन, भरे अर्को संशोधन गरौं भन्ने?’

नीति तथा कार्यक्रममा संविधान सर्वस्वीकार्य भएको भनेर उल्लेख गरिएको भन्दै राजपा नेपालका सांसदहरुले संसदमा संविधान कसरी सर्वस्वीकार्य भयो भनेर सरकारलाई प्रश्न गरेका थिए। ती प्रश्नको जवाफ दिँदै उनले संविधान संशोधन कुन विषयमा गर्ने भन्नेबारे बसेर छलफल गर्न सकिने बताए। प्रधानमन्त्री ओलीले संविधान संशोधन लहडको पछि लागेर हुने बताए। 

यद्यपि प्रधानमन्त्री ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको बताए। ‘संविधानमा संशोधन गर्नुपर्ने ठाउँहरु हुन्छन्। ०७२ साल मंसिरमा सुशील कोइरालाका पालामा पहिलो संशोधन भएको थियो । यति भएपछि पुग्ने भनेर संशोधन गरिएको हो, तर भएन,’उनले भने। 

प्रधानमन्त्री ओलीले देश र जनताको एकतालाई सुदृढ गर्न र साम्प्रदायिक विद्वेष खत्तम गर्ने उद्देश्यका लागि संविधान संशोधन जुनसुकै बेला हुन सक्ने बताए।  संविधान संशोधन अघि औचित्य र आवश्यकता भने प्रष्ट हुनु पर्ने बताए। 

राजपा नेपाल र समाजवादी पार्टी, नेपालले संविधान संशोधनको माग गर्दै आएका छन्। संविधान संशोधनको माग गर्दै आएको समाजवादी पार्टी सरकारमै छ भने राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिएर बसेको छ। 
 

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, वैशाख २४, २०७६