२५ किमी वाग्मती करिडोर ११ वर्षसम्म अधुरै
काठमाडौं, वैशाख २४ : निर्माण गर्न थालिएको एघार वर्ष बित्न लाग्दा पनि २५ किलोमिटर लामो वाग्मती करिडोर पूरा हुन सकेको छैन। करिडोर निर्माणको काम अझै पनि ....

काठमाडौं, वैशाख २४ : निर्माण गर्न थालिएको एघार वर्ष बित्न लाग्दा पनि २५ किलोमिटर लामो वाग्मती करिडोर पूरा हुन सकेको छैन। करिडोर निर्माणको काम अझै पनि अन्योलमै छ ।
वाग्मती करिडोरका काम केही सयमता भने रोकिएको छ। विविध कारण अहिले काम रोकिएको वाग्मती सभ्यता विकास समितिले जनाएको छ।
वाग्मती सभ्यता विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्म २५ किलोमिटर लामो वाग्मती करिडोर निर्माण तीन चरणमा गरिरहेको छ। पहिलो चरणअन्तर्गत सुन्दरीजलदेखि गोकर्णसम्म आठ किलोमिटर, दोस्रो चरणमा गोकर्णदेखि पशुपतिसम्म तीन किलोमिटर र तेस्रो चरणअन्तर्गत तिलगंगादेखि बल्खुसम्म १४ किलोमिटर छ।
अहिले दुई चरणको काम लगभग सकिएको समितिका सिनियर डिभिजन ईन्जिनियर योगेन्द्र चित्रकारले बताए। ‘अहिले पानी परेकाले काम रोकिएका हो, दुई चरणको काम लगभग सकिएको छ। अब मर्मतको काम मात्र बाँकि छ, त्यो पनि असारसम्म सकिन्छ,’ उनले भने। समितिले कालोपत्रे, सडक मर्मत, पुल निर्माण गर्दै आएको छ।
वाग्मती करिडोरअन्तर्गत वाग्मती नदीको दायाँपट्टीको भाग सडक विभागले र बायाँपट्टीको भाग समितिले निर्माण गर्दै छ। ठेक्काको समय सकिएकाले निर्माणको काम रोकिएको सडक विभागका डिभिजन प्रमुख कैलाश श्रेष्ठले बताए। ‘अहिले ठेक्का सम्झौता सकिएकाले काम रोकिएको हो, अबको केहि समयमा नै काम हुन्छ,’ उनले भने।
वाग्मती करिडोर निर्माणको काम २०६५ मा सुरु भएको थियो। त्यतिबेला २०७० मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो। तर, यो वैशाख मध्यसम्म २५ किमिमध्ये ११ किलोमिटर मात्रै निर्माण सम्पन्न भएको छ।
निर्माण भइसकेको दोस्रो चरणको गोकर्ण–गुहेश्वरी चार किलोमिटर सडक पनि ठाउँठाउँमा भत्किएको छ। समितिले भने असारसम्म मर्मत गर्ने जनाएको छ।
अब फेरि निर्माणको समवाधि बढाइएको छ। समितिले २०८० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।
यसमा अहिलेसम्म आठ अर्ब खर्च भएको समितिका सिनियर डिभिजन इन्जिनियर चित्रकारले बताए। उनका अनुसार करिडोर निर्माणका लागि १५ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ।
नदीको बहाव परिवर्तन, अव्यवस्थित शहरीकरण, सुकुम्वासी बस्ती आदि कारणले करिडोर निर्माण अपेक्षाअनुसार अघि बढ्न नसकेको उनको भनाइ छ।












-(7)-1765197040.jpg)