एनसेलको लाभकरसम्बन्धी मुद्दामा बहस, आजै फैसला आउन सक्ने
काठमाडौं, वैशाख २४ : सर्वोच्च अदालतमा एनसेल बिक्रीको पूँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ आज मंगलबार पनि हुँदैछ। सोमबार पनि हेर्दाहेर्दैमा राखिएको म....
काठमाडौं, वैशाख २४ : सर्वोच्च अदालतमा एनसेल बिक्रीको पूँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ आज मंगलबार पनि हुँदैछ। सोमबार पनि हेर्दाहेर्दैमा राखिएको मुद्दामा मंगलवार वहस हुन लागेको हो।
गत वैशाख १२ गते सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेलको लाभकर तत्काल नउठाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
यो आदेशसँगै पुनः एनसेलको करप्रकरण लम्बिने प्रक्रियामा गएको थियो। दुवै पक्षलाई अदालतले सोमबार छलफलका लागि समेत बोलाएको थियो। अल्पकालीन अन्तरिम आदेश निरन्तर हुने वा नहुने विषयमा दुवै पक्षसँग सोमबार छलफल भएको थियो।
सर्वोच्चको फैसलासँगै ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले दुईसाता अगाडी सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।
एनसेलका कानुन अधिकृत रमेश घिमिरेको तर्फबाट प्रसन्न श्रेष्ठले वारेस राखी रिट दर्ता गरेका थिए। एनसेलले आफूले दुई आर्थिक वर्षमा रकम बुझाएको दाबी गर्दै अब १४ अर्ब ३६ करोड मात्र लाभकर बुझाउनुपर्ने जिकिर गर्दै आएको छ। ठूला करदाता कार्यालयले भने एनसेलले अब ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने जनाएको छ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासमा मुद्दाको पेशी तोकिएको छ। सुनुवाइबाट अल्पकालीन आदेशले निरन्तरता पाएमा कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय कार्यान्वयन हुने छैन। अल्पकालीन आदेश खारेज भएमा ठूला करदाता कार्यालयको निर्णय कार्यान्वयनमा जानेछ।
अदालतको आदेशसँगै कर असुलीको प्रक्रिया रोकिएको छ। ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ थप कर सात दिनभित्र तिर्न पत्राचार गरेको थियो। तर, वैशाख ९ गते एनसेलले कर निर्धारण प्रक्रिया ठीक नभएको भन्दै सरकारविरुद्ध मुद्दा दायर गरेको थियो।






