पाँच वर्षमा ५९ हजारभन्दा बढी महिलामाथि हिंसा
‘आज पनि कतिपय महिला घरपरिवार, आफन्त र समाजसँग डराएर हिंसा सहिरहेका छन्। हिंसाका घट्ना जतिसक्दो धेरै प्रहरीसम्म पुर्याउनु जरुरी छ।’
काठमाडौं, मंसिर १० : लैंगिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु भएको छ। हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बर अर्थात मंसिर १० देखि २५ गतेसम्म यो अभियानमा विविध कार्यक्रम गरिँदै आएको छ।
नेपालमा पनि यो अभियान सुरु भएको छ। महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी र सन् १९८९ को इन्च्छाधीन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गराउने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिँदै आएको छ।
नेपालले पनि सन् २००८ मा महिलामाथि हुने घरेलु हिंसा नियन्त्रणसम्बन्धी कानुन पारित गरिसकेको छ। त्यस्तै, महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण कसुर सजाय ऐन पनि जारी भएको छ।
लैंगिक हिंसाविरुद्धको यो अभियानलाई नेपाल सरकारले पनि २०७५ देखि साथ दिँदै आएको छ। मन्त्रिपरिषद् बैठकले सामाजिक सचेतनासहित लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न मातहतका सबै निकायलाई निर्देशन दिँदै आएको छ।
यसवर्ष भने कोरोना महामारीका सामान्य रुपमा अभियान सञ्चालन गरिने भएको छ। यसलाई भर्चुअल माध्यमबाट प्रचारप्रसारमा जोड दिइने राष्ट्रिय महिला आयोगले जनाएको छ।
कोरोनालाई ध्यानमा राख्दै भिडभाड कम गर्न थोरै संख्यामा भेला भई सूचना आदानप्रदान गर्ने आयोगकी प्रवक्ता मिरा शेरचनले बताइन्। ‘विगतका वर्षहरुमा झै बाजासहित भब्य रुपमा मनाइदैन्,’ प्रवक्ता शेरचनले भनिन्।
यस्तो छ लैंगिक हिंसाको अवस्था
लैंगिक हिंसाका घटना विस्तारै बाहिर आउन थालेका छन्। लैंगिक हिंसाका घटनामा उजुरी दिने सहज व्यवस्थान पनि गरिएको छ।
अहिला आयोगले उजुरी गर्नका लागि निःशुल्क फोनको पनि व्यवस्था गरेको छ। लैंगिक हिंसाको घटनामा उजुरी दिन १४१५ मा फोन गर्न सकिने प्रवक्ता शेरचनले बताइन्। ‘महिलाहरु अहिले समस्या हुँदा आफै आएर उजुरी गर्न थालेका छन्। १४४५ मा मासिक रुपमा पाँच सयभन्दा बढि उजुरी आउने गरेका छन्,’ उनले भनिन्।
लैंगिक हिंसाका नेपाल प्रहरीमा उजुरी दिनेको संख्या बढ्दै गएको छ। घरेलु हिंसाका विरुद्ध पनि महिलाले प्रहरी एकाइमा उजुरी दिन थालेको प्रहरीले जनाएको छ। यो संख्या हरेक वर्ष बढ्दै आएको छ।
प्रहरी प्रधान कार्यालयको तथ्याङकअनुसार, गत पाँच वर्षमा ५९ हजार सात सय ६४ महिलामाथि लैंगिक हिंसा भएको छ। लैंगिक हिंसाविरुद्ध प्रचारप्रसार बढेसँगै हिंसाका घटना बाहिर आउन थालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायत बताउँछन्।
प्रहरीको तथ्यांकअनुसार, हरेक वर्ष उजुरी गर्ने पीडितको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७२/७३ मा नौ हजार तीन सय ९८ वटा लैंगिक हिंसाका घटना भएका थिए। त्यस्तै, २०७३/७४ मा यो संख्या बढेर ११ हजार ६ सय २९ पुगेको छ।
अझ २०७४/७५ मा १२ हजार दुई सय २५ वटा लैंगिक हिंसाका घटना भएका छन्। यो संख्या २०७५/७६ मा १४ हजार सात सय ७४ पुगेको थियो भने २०७६/७७ मा ११ हजार सात सय ३८ पुगेको छ।
यो वर्ष लैंगिक हिंसाका घट्ना अझै बढ्नसक्ने प्रहरीको अनुमान छ। २०७७÷७८ को पहिलो चार महिनाको अवधिमा ६ हजार तीन सय ११ वटा लैंगिक हिंसाका मुद्दा दर्ता भएका छन्।
अझै पनि कतिपय घटना प्रहरीसम्म नपुग्ने गरेको प्रवक्ता कडायतको भनाइ छ। ‘आज पनि कतिपय महिला घरपरिवार, आफन्त र समाजसँग डराएर हिंसा सहिरहेका छन्,’ उनी भन्छन्, ‘शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा यो संख्या अझ धेरै छ। हिंसाका घट्ना जतिसक्दो धेरै प्रहरीसम्म पुर्याउनु जरुरी छ।’












-(86)-1764936079.jpg)