Kathmandu Press

चिकित्सकको लापरबाही, ‘ओ पोजेटिभ’को सट्टा ‘ए पोजेटिभ’ रगत चढाएपछि बालिकाको मृत्यु

काठमाडौं, वैशाख २३ : चिकित्सकको लापरबाहीका कारण सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

म....

चिकित्सकको लापरबाही, ‘ओ पोजेटिभ’को सट्टा ‘ए पोजेटिभ’ रगत चढाएपछि बालिकाको मृत्यु

काठमाडौं, वैशाख २३ : चिकित्सकको लापरबाहीका कारण सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

मुटुमा समस्या आएपछि उपचारका लागि भर्ना भएकी सर्लाहीकी पाँच वर्षीया बालिका आकृति कुमारी साहको उपचारका क्रममा सोमबार बिहान पौने ५ बजेतिर मृत्यु भएको हो। चिकित्सकले आकृतिलाई ‘ओ’ पोजेटिभको सट्टा ‘ए’ पोजेटिभ रगत चढाएको पाइएको छ।

मेडिकल रिपोर्टमा आकृतिको रक्त समूह ‘ओ’ पोजेटिभ लेखिएको छ तर, चिकित्सकले भने रगत चढाउँदा ‘ए’ पोजेटिभ चढाएको पाइएको पीडित परिवारको दाबी छ। आकृतिको मुटुमा समस्या देखिएपछि गत वैशाख १३ गते उपचारका लागि गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो।

चिकित्सककै लापरबाहीले बालिकाको ज्यान गएको भन्दै उनका आफन्तले शव नबुझ्ने बताएका छन्। तर, चिकित्सकहरुले भने बच्चाको मुटुमा ठूलो रोग रहेको दाबी गरेका छन्। बालिकाको मुटुभित्र ठूलो प्वाल रहेको र फोक्सोमा जाने रगतका नलीहरु साघुँरा भएको पाइएको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए।

वैशाख १३ गते अस्पताल ल्याएकी आकृतिको १७ गते मंगलबार ओपनहार्ट सर्जरी गरेर मुटुको प्वाल टालेको डाक्टर शर्माले बताए। उनले भने,‘ यो अप्रेशन निकै जटिल थियो। फोक्सोमा जाने रगतका नलीहरुमा काँटछाँट गरेर मिलाएका थियौं तर बालिकाको निधन भयो।’  

शल्यक्रियामा डा. ज्योतिन्द्र शर्मा, डा.रवीन्द्रभक्त तिम्ले र डा. नवीनचन्द्र गौतम संलग्न थिए। 

छानविन गर्न समिति गठन

बालिकाको शरीरमा गलत रगत चढाएको विषयमा छानविन गर्न अस्पतालका निर्देशक ज्योतिन्द्र शर्माकै संयोजकत्वमा समिति बनाइएको  छ।

समितिले एक– दुई दिनभित्रैमा रिपोर्ट बुझाउनेछ। गलत रगत चढाएरै बालिकाको ज्यान गएको पाइएमा उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गरिने डा. शर्माले बताए।

‘रगतकै कारण बालिकाको ज्यान गएको हो कि होइन। यो विषयमा छानविन हुन्छ,’उनले भने,‘तर, अहिले नै गलत रगत चढाएरै बालिकाको ज्यान गएको हो भन्न मिल्दैन।’
 

प्रकाशित मिति: १६:३० बजे, सोमबार, वैशाख २३, २०७६