Kathmandu Press

राज्य पहिलेभन्दा अझ बढी निरंकुश भएको छ : ठाकुर

काठमाडौं, वैशाख २३ : प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रतिपक्षका सांसदले चर्को आलोचन....

राज्य पहिलेभन्दा अझ बढी निरंकुश भएको छ : ठाकुर

काठमाडौं, वैशाख २३ : प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रतिपक्षका सांसदले चर्को आलोचना गरेका छन्।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले परम्परागत शैलीमै प्रस्तुत भएको नीति तथा कार्यक्रममा मधेसी जनताका लागि केही नभएको टिप्पणी गरे।     उनले भने, ‘राज्य पहिलेको भन्दा अझ बढी निरङ्कुश भएको छ, अहिले सारा अधिकार सिंहदरबार केन्द्रित गर्ने काम भएको छ, मधेसी समुदायका लागि अहिले झ्याल र ढोका दुवै बन्द छ।’

न्याय र अधिकार माग्दा गोली खानुपर्ने, यो कस्तो लोकतन्त्र हो भनी प्रश्न गर्दै सांसदले ठाकुरले भने, ‘भन्नका लागि गणतन्त्र र सङ्घीयता छ तर प्रदेशले अधिकार पाएको छैन, आमजनतामा परिवर्तन भएको महसुस हुन सकेको छैन, कुनै निकायमा समानता देखिएको छैन, विभेद यथावत् छ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे। ‘नीति तथा कार्यक्रम महत्वाकाँक्षी, छरपष्ट, अमूर्त, प्रोपोगान्मा आधारित भएर आएको छ, जनताको सरकारलाई मेरो सरकार भन्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याउने र गणतन्त्रको उपहास गर्ने काम भएको छ,’ उनले भने।

पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद कार्कीले भने, ‘सरकारका कामकारवाहीबाट आर्थिक र प्रशासनिक क्षमतामा ह्रास आएको छ,  यसले समृद्धिको दिशातर्फ होइन, अलमलको दिशातर्फ उन्मुख गराउँछ।’

सङ्घीय समाजवादी फोरम नेपालका नेता विमलप्रसाद श्रीवास्तवले सरकारको नीति तथा कार्यक्रममा मुलुकका सबै क्षेत्रलाई समेट्न नसकेको बताए। ‘झारा टार्ने किसिमबाट घोषणा भएका कार्यक्रमले मजदूर र किसानका समस्या समाधान हुन सक्दैन,’ श्रीवास्तवले भने, ‘तत्काल चिया बगानका मजदूरको समस्या समाधान गर्न पहल होस्, सुरक्षा निकाय र कर्मचारीको विषय पनि गोलमटोल रुपमा आएको छ।’

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, वैशाख २३, २०७६